बोक्सी लागेको भन्दै बन्दी बनाएर कुटपिट, मृत्युपछि गुपचुप पार्ने प्रयास

धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराको घरमा स्थानीय युवाहरुको समूह आयो ।

अत्तालिदै पुगेको उक्त समूहले पुजारालाई वडा नम्बर ६ कै मुसेपानीकी कमला साउदको घरमा एउटा शंकास्पद घटना भएको आशंकासहितको जानकारी गराए ।

‘घरभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन । आँगनमा कपडाले छोपेर मानिसको शव जस्तो राखिएको देखिन्छ,’ वडा सदस्य पुजारालाई उक्त समूहका सदस्यहरुले भने, ‘तर हामीलाई जान दिएका छैनन् । एक पटक गइदिनुपर्‍यो ।’

उनीहरुको कुरा सुनिसकेपछि वडा सदस्य पुजारा पनि उनीहरुसँगै साउदको घरतर्फ लागे । पुजारा त्यहाँ पुग्ने बेला साउद, साउदका परिवार सदस्य र दुई जना धामी झाँक्री पनि उनको आँगनमा बसिरहेका थिए । आँगनमा कपडाले छोपेको अवस्थामा एउटा शव थियो भने नजिकै आगोको ध्वनि र फलामका डन्डी थिए ।

वडा सदस्य पुजाराले छोपेको कपडा माथि गर्दै शव हेरे । उक्त शव स्थानीय ४३ वर्षीया रञ्चुला साउदको थियो । शवबाट गन्ध आइरहेको थियो । उनले आगनमा बसिरहेकाहरुलाई सोधे– के भएको हो ? नजिकै बसेका एक जनाले जवाफ फर्काउछन्, ‘तपाईं को हो र ? हामीमाथि अनुसन्धान गर्ने यहाँबाट तुरुन्त गइहाल्नुस् ।’

पुजाराले तत्कालै प्रहरी र वेदकोट नगरपालिकाका जनप्रतिनिधिहरुलाई घटनास्थलमा बोलाए । केही दिनदेखि दुई जना धामीहरु कमला साउदकै घरमा रहेछन् ।

‘रञ्चुला पेट दुखेकाले उनीहरुलाई झारफुक गराउन कमलाकै घरमा आएकी रहिछन्’, वडा सदस्य पुजाराले अनलाइनखबरसँग भने, ‘धामी झाँक्रीहरुले भूतप्रेत, बोक्सी लागेको भन्दै फलामको डन्डा आगोमा तताएर कुटपिट गर्दागर्दै वैशाख १ गते नै मृत्यु भएको रहेछ तैपनि उनीहरु हामी जिउँदो बनाउँछौँ भनेर झारफुक गरिरहेकै रहेछन् ।’

पुजाराले मृतकको नाक मुखसहित शरीरका विभिन्न भागमा चोट पटक रहेको बताए । उनका अनुसार मृतक एकल महिला हुुन् । उनका दुई छोरी छन् । कमला साउद उनकी जेठानी हुन् ।

चैत २७ गते साँझ जेठानी साउदको घरमा आएकी रञ्चुलालाई एउटा कोठामा बन्दी बनाएर बोक्सी भगाउने भन्दै भीमदत्त नगरपालिकाबाट आएका दुई जना धामी झाँक्रीले उनलाई कुटपिट गरेको वडा सदस्य पुजाराको भनाइ छ । उनीहरुले मृतकका छोरीहरुलाई उक्त कोठामा प्रवेश गर्न नदिएको पाइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडकमा माटो फिलिङको काम गर्ने रन्चुला २७ गते साँझ कामबाट फर्किएपछि पेट दुुखेकाले कमलाको घरमा धामी झाँक्री आएको थाहा पाएपछि त्यहाँ पुगेको उनकी छोरी सरिताले बताइन् ।

‘थारुको भूुत, बोक्सी लागेको छ मन्त्र पढ्नुपर्छ भनेर आमालाई एउटा कोठामा थुुनेर राखियो । हामीलाई त्यहाँ जान दिइएन,’ उनले भनिन् ।

आफूले आमालाई कोठामा थुनेर राखेको कुरा गाउँका अरु मान्छेलाई भन्छुु भन्दा आफ्नो पनि त्यस्तै हालत गरिदिने धम्की धामी झाँक्रीले दिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि घटना शंकास्पद रहेकाले दुुई जना धामीझाँक्रीसहितका ७ जनालाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेमा धामी झाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का ६० वर्षीय धर्मान्नद भट्ट, वडा नम्बर १ का ७२ वर्षीय नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउदसहितका ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले बताए ।

अनलाइनखबरबाट साभार