सुशासन र पारदर्शितामार्फत सेवा गर्ने प्रतिबद्धताः कोइराला




नेपालगन्ज । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वास कुनै पनि हालतमा टुट्न नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति बाँकेद्वारा मंगलवार नेपालगन्जमा आयोजित बृहद् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सुशासन, पारदर्शिता र उत्तरदायित्वमार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताए।

संविधानका पिता तथा त्यागी नेता सुशील कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको उल्लेख गर्दै कोइरालाले उक्त क्षेत्रको गौरवशाली राजनीतिक इतिहास र जनभावनालाई सम्मान गर्दै अघि बढ्ने धारणा राखे। उनले सुशील कोइरालाले स्थापित गरेको इमानदार राजनीति, त्याग र समर्पणको मार्गलाई आत्मसात गर्दै राजनीतिक यात्रामा अघि बढ्ने बताए।

कोइरालाले नेपाली काँग्रेसभित्र हाल देखिएको परिवर्तनले कार्यकर्तामा नयाँ उत्साह थपिएको उल्लेख गरे। जेन–जी आन्दोलनले पार्टीलाई समयानुकूल रूपान्तरणतर्फ अग्रसर बनाएको बताउँदै उनले पार्टी संगठन थप सक्रिय र सशक्त बन्दै गएको दाबी गरे। कार्यकर्ताको एकता, सक्रियता र योजनाबद्ध अभियान सञ्चालन गर्न सके चुनावी विजय सुनिश्चित हुने उनको विश्वास थियो।

“हामीले थोरै मात्र थप मिहिनत गरेर सही रणनीति अपनाउन सके जित सुनिश्चित छ,” उनले भने, “पार्टीभित्र देखिएको उत्साह र एकताले सकारात्मक परिणाम ल्याउने आधार तयार भएको छ।”

उनले पार्टी नेतृत्वप्रति पनि विश्वास व्यक्त गर्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन बाँकेबाट निर्वाचन लड्नु जिल्लाकै गौरव भएको बताए। पुनको नेतृत्वलाई मार्गदर्शनका रूपमा लिँदै संगठन सुदृढीकरण र चुनावी अभियानलाई अझ प्रभावकारी बनाइने उनले बताए।

“हामीले सक्षम अभिभावक नेतृत्व पाएका छौँ, जसले हामीलाई सही दिशा दिनेछ,” उनले भने।

कोइरालाले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रूपमा मात्र नभई जनताको विश्वास जित्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले पारदर्शी र उत्तरदायी शासनमार्फत विकास र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए।

बाँके क्षेत्र नम्बर २ को समग्र विकास, सुशासन र स्थायित्वका लागि स्पष्ट योजना र प्रतिबद्धतासहित आफू चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै उनले जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए।

भेलालाई नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार