नवप्रवर्तनशिल शिक्षणको लागि सहकर्मी सिकाइ सेमिनार उपयोगी हुन्छ: अध्यक्ष अधिकारी




सुदाम शर्मा, कर्णाली व्युरो

मध्यपश्चिम विश्वविद्यालयमा सहकर्मी सिकाइ सेमिनार समुद्घाटन
नवप्रवर्तनशील शिक्षणका लागि सहकर्मी सिकाइ सेमिनार उपयोगी हुने विश्वास गरोएको छ । विश्वविद्यालयमा एक समारोहका बीच दुई दिने सहकर्मी सिकाइ सेमिनार “पीअर लर्निङ सेमिनार” आजबाट वीरेन्द्रनगर, सुर्खेतमा शुभारम्भ भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुदुरपश्चिम विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (MUTU) द्वारा आयोजित सो सेमिनारको आइतवार विहान समुद्घाटन गरिएको हो । प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले उच्च शिक्षा प्रदायक संस्थाहरुले समस्या अरुतिर नतेर्स्याई स्वमूल्याङ्कन गर्ने बेला आएको बताउए ।

अध्यक्ष अधिकारीले सहकर्मी सिकाइ (Peer Learning) बदलिंदो नवीन शिक्षण प्रवृत्तिमा महत्वपूर्ण आधार हुने उल्लेख गर्दै यसबाट उच्च शिक्षामा देखापर्ने चुनौतिसँग जुध्न र सम्भावना बारे खोजी गर्न सेमिनार उपयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । उनले परम्परागत विधिबाट अबको शिक्षण असम्भव रहेको बताउँदै आजका विश्वविद्यालयले विसौं वर्ष पछिसम्म आइपर्न सक्ने समस्यासँग मुकाविला गर्ने गरी भविष्यको योजना बनाउन सक्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तले अनुसन्धानको नयाँ प्रवृत्ति अन्तरविषयक भएकाले अन्तरविभाग, अन्तरविश्वविद्यालय स्तरमाा ज्ञानको आदानप्रदान आवश्यक रहेको बताउए ।


कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) संचालक परिषद्का नवनियुक्त अध्यक्ष प्रा. डा. राजनबहादुर पौडेलले आफूलाई मात्र ज्ञानको सर्वोपरी नठानी परस्पर ज्ञान, सीप एवम् अनुभव आदानप्रदान गर्न सहपाठी सिकाइ अपरिहार्य भएको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले विभिन्न आठ विश्वविद्यालयका प्राध्यापकहरु सम्मिलित जारी सेमिनारले एकापसका सबल पक्ष अनुसरण गर्ने र कमीहरुलाई हटाई निखारपन ल्याउनुका साथै प्राज्ञिक अनुसन्धान तथा समग्र शैक्षिक विकासमा टेवा पुग्ने अपेक्षा गरे । उनले आ- आफ्नो संस्थाका उपलब्धि शेयर गरी सिक्ने सिकाउने प्लेटफर्मका रुपमा सेमिनारलाई सदुपयोग गर्न सहभागीहरुलाई अपिल गरे ।
उद्घाटन सत्रमा सहभागीहरुलाई शब्दद्वारा स्वागत गर्दै मध्य्पश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यो कार्यक्रम मनोरञ्जनका लागि नभई आपसी सहकार्य र मित्रता सुदृढ गर्ने महत्वपूर्ण चौतारी भएको बताए । प्रा. डा. कँडेलले सहसिकाइले नयाँ चुनौती सामना गर्न र समस्या समाधानका लागि नेतृत्व क्षमता विकास गराउने धारणा व्यक्त गरे ।


सेमिनारले विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्न सहयोग पुर्‍याउने र भावी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न केन्द्रीय विभाग तथा आंगिक क्याम्पस, त्रिभुवन विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायत देशभरका आठवटा विश्वविद्यालयबाट सहभागी भएको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले कोहलपुर टुडेलाई जानकारी दिए ।


उद्घाटन कार्यक्रममा आयोजक विश्वविद्यालयका विभिन्न डीन, कार्यकारी निर्देशक सहितका पदाधिकारी तथा शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन उपप्रा. कमला तिवारीले गरेकी थिन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार