कृष्णसार एफएम बन्यो ‘जेसी च्याम्पियन मिडिया’




 नेपालगन्ज । नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्रदान गरिएको छ ।

समुदायका लागि सञ्चार अभियान नेपालद्धारा संचालित कृष्णसार एफएमलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ – ‘नेपालको मिडिया क्षेत्रमा लैंगिक समानता र समावेशिता प्रवर्धनका लागि गरेको उत्कृष्ट अभ्यास, नवीन पहल र निरन्तर प्रयासको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गर्दछौं ।’

‘यस रेडियोले लैंगिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । विशेषगरी समाचार कक्षमा महिला सहभागिता, समावेशी भर्ना, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन संयन्त्र, अपाङ्ग मैत्री पुर्वाधार र पत्रकार सुरक्षा क्षेत्रमा नमूना अभ्यास गर्दै आएको छ’– पत्रकार महासंघले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।

काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार किशोर नेपालले एफएमका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक तुला अधिकारीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, अध्यक्ष निर्मला शर्मा, बरिष्ठ उपाध्यक्ष दिपक आचार्य लगायतको सहभागिता थियो ।

आयोजक पत्रकार महासंघका अनुसार सम्मान छनोट समिति मार्फत् विभिन्न सूचकका आधारमा उत्कृष्ट छनोट गरी अवार्ड प्रदान गरिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार