
काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएर दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । भोलि असोज ६ गते घटस्थापनाको दिनदेखि नै दुर्गापक्ष सुरु हुन्छ । दशैं रमाइलो गरी मनाउने तयारी गर्नेहरुका लागि मौसम कस्तो होला भन्ने चासो स्वाभाविक हुन्छ । साँच्चै कस्तो होला यो वर्षको दशैंमा मौसम ?
मौसमविद डा. विनोद पोखरेल भन्छन्– यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । उनका अनुसार भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ । ‘अर्को हप्ता दशैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ । जसका कारण नेपालभरि हिले दशैं हुने सम्भावना धेरै रहेको छ,’ डा. पोखरेल भन्छन् ।
बंगालको खाडीमा विकसित हुँदैछ प्रणाली
विपद व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति पनि दशैंसम्म नेपालमा मनसुन कायमै रहने सम्भावना देखिएको बताउँछन् । उनका अनुसार सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बे अफ बंगालमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म त्यसले आंशिक असर पार्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही हदसम्म रोक्ने हो कि भन्ने अनुमान गरिएको डा. उप्रेतीको भनाइ छ ।’
मौसम विज्ञान विभागका मौसमविद् के भन्छन् ?
मौसम विज्ञान विभागले भने सामान्यतया तीन दिनभन्दा धेरै अवधिको मौसम पूर्वानुमानबारे औपचारिक जानकारी दिँदैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार दशैं विशेष बुलेटिन जारी गरेर मौसमबारे औपचारिक जानकारी दिइनेछ । तर त्यसका लागि केही दिन कुर्न र अन्यका सूचनामा विश्वास नगर्न उनले अनुरोध गरे ।
जल तथा मौसम विज्ञान विभागका अर्का एकजना मौसमविदले बंगालको खाडीमा विकसित हुने प्रणालीको सिधा असर नेपालमा पर्ने सम्भावना नरहेको बताए । ‘त्यो प्रणाली मध्य भारत हुँदै बहने भएकाले नेपालमा सिधा असर पर्दैन,’ ती मौसमविदले भने ।
उनका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मध्यम खालको वर्षाको सम्भावना छ । भोलि र पर्सि अधिकांश भूभागमा मौसम सफा हुने सम्भावना छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्