बुटवल । नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसइई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ ।
भारतको स्वतन्त्रता दिवसको अवसर पारेर शनिवार लुम्बिनीमा एसइई उत्तीर्ण छात्राहरूलाई साइकल वितरण गरिएको मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।
उनले सरकारी विद्यालयमा अध्ययनरत छात्राहरूलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएको बताए । नगरपालिकाका अनुसार २०८१ को एसईईमा पालिकाबाट १ सय ९४ जना छात्राले एसइई उत्तीर्ण गरेका थिए । तीमध्ये आवश्यकता पहिचान गरेर १ सय १ जनालाई साइकल वितरण गरिएको अध्यक्ष अग्रवालले बताए ।
लुम्बिनीमा आयोजित छात्रा विद्यार्थीलाई साइकल वितरण समारोहमा बोल्दै पूर्व अर्थ राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकारी विद्यालयका छात्रा विद्यार्थीहरूलाई प्रोत्साहन हुने गरी मैत्री केन्द्रले साइकल वितरण गरेर विद्यार्थीलाई ऊर्जा प्रदान गरेको जनाए ।
उनले साइकल वितरणले नेपाल–भारतको मैत्री सम्बन्धलाई ताजा तुल्याएको जनाए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन् । उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेका जनाउँदै आउँदा दिन पालिकासँग हातेमालो गर्न केन्द्रलाई आग्रह गरिन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्