
कोहलपुर । कोहलपुर नगरपालिका ४ किरणनाला नजिकै कित्ता नं. ७७ को सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण भएका संरचना नगरपालिको भत्काएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको सार्वजनिक जग्गामा आमा टिका शाही र छोरी गंगा शाहीलाई नगरपालिकाले पटक पटक सूचना आग्रह गर्दा समेत अटेरी गरी सिमेन्ट र इँटा प्रयोग गरी मन्दिर निर्माण गर्न लागेपछि नगरपालिकाले सो संरचना भत्काएको हो ।
विहिबार कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आलेको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सार्वजनिक जग्गामा टिका शाही र गंगा शाहीले नगरपालिकाबाट कुनै स्वीकृति नलिई सिमेन्ट र इँटा प्रयोग गरी संरचना बनाउँदै थिए । स्थानीयवासीको उजुरीका आधारमा नगर प्रहरीको टोलीले मिति २०८२ असार २४ गते उक्त संरचना भत्काएर निर्माण कार्य रोकिएको हो । यसअघि पनि मौखिक तथा लिखित रूपमा पटकपटक आग्रह गरिए पनि अटेर गरिएकाले बाध्य भएर उक्त कदम चालिएको नगरपालिका स्पष्ट पार्दछ ।’
केही युट्युब च्यानल र सामाजिक सञ्जालमार्फत धार्मिक सद्भावलाई असर पुग्ने गरी भ्रमपूर्ण प्रचारप्रति खेद व्यक्त गर्दै यस कार्यमा वडाध्यक्ष मुवारक अलि गुजरको धर्मलाई जोडेर गरिएका टिप्पणीहरूलाई पूर्णतः निन्दनीय भएको बताएको विज्ञप्तीमा उल्लेख छ ।
कोहलपुर नगरपालिका प्रवक्ता आलले नगरले स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम सार्वजनिक जग्गा, भवन, सम्पदा र पूर्वाधारको संरक्षण गर्नु आफ्नो जिम्मेवारी भएको स्मरण गराउँदै बहु–धार्मिक र बहु–सांस्कृतिक कोहलपुरमा सद्भाव कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताए ।
विज्ञप्ती
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्