
आर्थिक र सामाजिक विकासका सवालमा अन्य पालिकाको तुलनामा उत्पादनको आपूर्तिको मुहान भएजस्तै सम्भावनाहरूको पनि सँगम हो बैजनाथ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको बैजनाथमा नयाँ योजनाका कारण यतिबेला जनप्रतिनिधि र आमनागरिक उत्साहित छन् ।
जनताको सेवामात्र नभएर अर्थसामाजिक आयामहरूमा पनि अन्य पालिकाहरूभन्दा बेग्लै पहिचान बनाएको छ । मानवीय विकासमापछि परेको बैजनाथ गाउँपालिका समृद्धिको मार्गमा अघि बढ्ने प्रयत्नमा छ ।
पालिकाको समस्याबाटै अवसरको खोजी गर्न सकिने धारणा स्थानिय गणेश खत्रीको भनाइ छ । ‘आर्थिक र सामाजिक विकासमा पछाडि परेको भए पनि यहाँ विकासको आधार हुँदै नभएका होइनन्,’ खत्री भन्छन्, ‘सम्भाव्यताको उचित तरीकाले कृषि क्षेत्रमा थप लगानी हुने हो भने बैजनाथ समृद्ध पालिकाको रूपमा स्थापित हुन सक्ने पर्याप्त आधारहरू छन् ।’ यसका निम्ति पालिकाको नेतृत्वमा प्रतिबद्धता र दृढ इच्छाशक्तिको भने खाँचो पर्ने उनको बुझाइ छ ।
‘पालिकाले कानूनी जटिलतालाई फुकाउँदै नयाँ व्यवस्थाको प्रबन्ध मिलाउनु पर्दछ,’ अर्को स्थानिय अजय बैगारले भने, ‘संविधानले स्थानिय निकायलाई दिएको अधिकार प्रयोग गरी नौवस्थामा छिटो भन्दा छिटो उद्योगहरू सञ्चालन हुनुपर्छ ।’ उदीयमान अर्थतन्त्र र ठूलो बजार सम्भाव्यता समेटेको ‘ड्रिम प्रोजेक्ट’ नौवस्था औद्योगिक क्षेत्र, गाभर होमस्टे र कैलाश मानसरोवरसँग जोडिएर समृद्धिको मार्गमा लैजाने सक्ने बैगारको भनाइ छ ।
बैजनाथ गाउँपालिकामा प्रदेशकै ठूलो उद्योग हो ‘कैलाश मानसरोवर पार्क, लायन्स पार्क, ताल, सिमसार, गाभर होमस्टेसँगै लायन्स पार्कजस्ता योजनाका डिपिआर बनेका छन् भने नौवस्ता औद्योगिक क्षेत्रको काम सुरु भइसकेको छ ।
प्राकृतिक स्रोत साधन, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन तथा वातावरण, सुशासन तथा संस्थागत रूपमा विकास गरी बैजनाथलाई समृद्धि बनाउने मुख्य मुहान हुन् ।
‘ड्रिम प्रोजेक्ट’ आफ्नै कार्यकालमा पूरा गर्छु : शाही
‘ड्रिम प्रोजेक्ट’ आफ्नो कार्यकालमा नै पूरा गर्ने बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले भन्नुहुन्छ, ‘आधा दर्जन भन्दा बढि ठूला योजनालाई संघ र प्रदेशको समन्वयमा पूरा हुन्छन् ।’
यस्तै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रशोधन केन्द्र स्थापना गर्ने, ४०औंं वर्षदेखि भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासहरूले लालपूर्जा उपलब्ध गराउने, आन्तरिक तथा बाह्य पयर्टकहरूलाई मानसरोवरसँग जोड्ने समेत पालिकाको लक्ष्य छ ।
पालिकाले ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ मार्फत ७० प्रतिशत किसानहरूलाई समेटने गरी काम गरिरहेको पालिका अध्यक्ष शाही बताउँछन् ।
किसानहरूलाई प्रविधिसँग जोडेर उत्पादनमा जोड दिने, बजारीकरण गर्ने, स्वरोजगार बनाएर आत्मानिर्भर बनाउने, २०७२ सालदेखि सञ्चालनमा आउन नसकेको औद्योगिक क्षेत्र सञ्चालन गर्ने, लायन्स पार्क, ताल, सिमसार, गाभर होमस्टेसँगै लायन्स पार्क व्यवस्थित गर्ने डिपिआर तयार भइसकेको र योजनाहरू अघि बढेको अध्यक्ष शाहीले बताउँछन् ।
कृषि क्षेत्रमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताउँदै पालिका अध्यक्ष शाहीका अनुसार कुल जनसंख्याको करिब ४० प्रतिशत भन्दा बढि आफुनो उत्पादनले वर्षदिन खान पुग्ने घरपरिवारको संख्या रहेको बताउँछन् ।
वार्षिक खाद्यान्न करिब १ लाख ८७ हजार १ सय ३४ क्वीन्टल उत्पादन हुन्छ भने करिब दलहन ४९ हजार ७५, तेलहन २१ हजार ५ सय २, नगदे बाली ४८, तरकारी १ लाख ४१ हजार ४ सय ४८ क्वीन्टल उत्पादन हुने र ध्यू ६ लाख ९० हजार ९ सय ४ लिटर, माछामासु ६ लाख ८० हजार ५ सय २३ केजी उत्पादन हुने पालिका अध्यक्ष शाही बताउँछन् ।
बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले उद्योग र व्यापारका लागि सहज यस पालिकाले विशेष आकर्षण दिएर अन्य पालिकाका लगानीकर्तालाई पनि भित्र्याउन सक्ने बताउँछिन् । लगानीकर्तालाई स्थानिय सरकारले सहुलियत रूपमा कर छुट गरी लगानी भित्र्याउन पालिकाले लगानी कर्ताको सहजताका लागि कर छुट, जग्गा उपलब्ध जस्ता अन्य काम पनि गर्ने बताइन् ।
पालिकालाई समृद्धि बनाउन स—साना योजनादेखि ठूला योजनालाई गुणस्तरीय र प्रभावकारी बनाउन हरेक योजनालाई कडाइका साथ अनुगमन गरिररहेको पालिका उपाध्यक्ष रोकाय बताउँछिन् ।
दक्ष र सक्षम जनशक्तिको आधार निर्माणका लागि पालिकाले शिक्षा र स्वास्थ्यकेन्द्रित योजनामा जोड दिएको बैजनाथ गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत विश्वराज ढकालले बताउँछन् । ‘शिक्षा नै दक्ष जनशक्ति निर्माणको प्राथमिक आधार हो ।
समाजको समग्र अवस्था उकास्न ‘छोरी पढाउ अभियान’ टकिङ्ग टिचर’ ‘पढ्दै कमाउँदै’ चलाइएको छ,’ ढकाल बताउँछन् । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया निकुञ्जको उपयोग गरी धार्मिक र सांस्कृतिक महत्वलाई आधार बनाएर बैजनाथको पर्यटन प्रवद्र्धन गर्न सकियो भने आर्थिक उपार्जन ठूलो टेवा पुग्ने ढकालको भनाइ छ ।
यस्तै ९५ प्रतिशत योजनाहरू पूरा भइसकेको बैजनाथ गाउँपालिकाका योजना शाखा प्रमुख डोटी नेपाली बताउँछन् । वडाबाट आएका योजनालाई प्रमुख प्राथमिकतामा राखी प्रभावकारी र पालिकाको हितको पक्षमा हुने योजनालाई छनौट गरी बजेटको व्यवस्था गरी कार्यक्रमहरू सम्पन्न भइसकेको र केही थोरै बाँकी रहेको शाखा प्रमुख नेपालीले बताउँछन् ।
पूर्व–पश्चिम लोकमार्गको दुबैतर्फ फैलिएको बैजनाथ गाउँपालिका सडक, खानेपानी, भू–बनोट र भौतिक संचरनाको हिसाबले यसै पनि महत्वपूर्ण स्थानमा रहेको छ । साविकका चिसापानी; नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकामा ८ वटा वडा कार्यालय रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्