कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार कोहलपुर नगरपालिका बाँके जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चलायमान र गतिशील देखिन्छ । नगरपालिकाले व्यवस्थित कोहलपुर बनाउने योजनाका साथ आफ्ना कार्यक्रमलाई योजनाबद्ध रूपमा प्राथमिकता दिएर काम गर्न थालेपछि यसको सकारात्मक प्रभावहरु देखिन थालेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित नगर, फुटपाथ व्यवस्थापन, संस्थागत सुधार, नगरलाई प्रविधिसँग जोड्ने गरी काम भइरहेका छन् । दोस्रो कार्यकालका लागि आएका जनप्रतिनिधिले करिव साढे दुई वर्षको अवधि गुजारिसकेका छन् । यो साढे दुई वर्षको अवधिमा भएका प्रगति, सम्भावना, अवसर र चुनौतिका विषयमा केन्द्रीत रहेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यसँग गरिएको कुराकानी :
तपार्ईं निर्वाचित भएर आएपछि के कति काम गर्नुभयो ?
कोहलपुर नगरपालिकामा निर्वाचित भएर आएको साढे दुई वर्ष पूरा भएको छ । निर्वाचित हुनुअघि एउटा सचेत नागरिकको हिसाबले स्थानीय सरकारले गर्ने कामप्रति सहयोग र रचनात्मक सुझाव दुवै रह्यो । राम्रो कामप्रति सधैँ सहयोग रह्यो भने गलत काम गर्दा प्रश्न गर्ने र खबरदारी गर्ने काम गरियो । पहिले प्रश्न गर्ने ठाउँमा थिएँ भने अहिले जवाफ दिने ठाउँमा छु । कोहलपुर नगरपालिकाले ठुलो विकास निर्माणका योजनाभन्दा पनि माग र आवश्यकताका आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै आएको छ । तत्कालका लागि कोहलपुर नगरपालिकाले कोहलपुर शवदाह गृह निर्माणको काम गरिरहेको छ । कोहलपुरबासीका लागि यो सबैभन्दा आवश्यकता थियो । किनभने कोहलपुरमा शवदाह गृह नहुँदा राप्तीसोनारीको अगैया जानुपर्ने बाध्यता थियो भने कि त सुर्खेत बबई लैजानु पर्ने अवस्था थियो । त्यसका लागि परिवारले आर्थिक भार खेप्दै आएका थिए भने मलामी जानेहरुको पनि समय नोक्सान भइरहेको थियो ।
कोहलपुरमै व्यवस्थित शवदाह गृह बन्ने भएपछि अव यी सबै समस्या हल हुनेछन् । खासगरी हामीहरुले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएर काम गर्दै आएका छौं । प्रशासनिक भवन, कभर्ड हल, चत्रपथ निर्माण जस्ता पूर्वाधार निर्माणका ठुला योजना पनि सञ्चालनमा छन् तर ठुला योजनाको लागत खर्च हाम्रो स्थानीय सरकारले थेग्न मुस्किल पर्छ । धेरैको माग सडक र नालाको छ । हाम्रो बजेट सीमित छ । यस्तो अवस्थामा कम्तीमा पनि मानिस आउजाउ गर्ने सडक निर्माण गर्ने, नाला निर्माण गर्ने र भएका बाटोको स्तरोन्नति गर्ने गरी काम भइरहेका छन् । बजेटको आधारमा सडक कालोपत्रे गर्ने काम पनि गरिएको छ तर सबैको आवश्यकता र माग सम्बोधन गर्ने गरी सडक कालोपत्रेको काम गर्न सकिएको छैन । यो गाह्रो कुरा पनि हो । त्यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिएको छ ।
विकासको काममा कसरी प्राथमिकता निर्धारण गर्नुभएको छ ?
शिक्षा हाम्रो पहिलो प्राथमिकता हो । अब कोहलपुर नगरपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव छैन । अपुग शिक्षकहरु कोहलपुर नगरपालिका आफैले लागेर सबै विद्यालयमा विषयगत शिक्षकको अभाव पूरा गरिएको छ । यसको नतिजा अहिले नआए पनि दीर्घकालीन रूपमा शिक्षामा सकारात्मक प्रभाव पार्ने छ भन्ने विश्वास हाम्रो छ । कोहलपुर नगरपालिका भन्नेबित्तिकै धेरैलाई विकसित नगरपालिका हो भन्ने लाग्दछ तर कोहलपुर नगरपालिका विकट पनि छ । १५ वटा वडाले बनेको यो नगरपालिका बजार क्षेत्रमा मात्रै विकसित देखिएको हो । ठुलो हिस्सा ग्रामीण क्षेत्रले ओगटेको छ । त्यसैले सकेसम्म हामीले स्थानीयको आवश्यकता र मागमा आधारमा विकासलाई प्राथमिकतामा राखेका छौँ । १५ वटै वडालाई विकसित वडा बनाउने गरी हाम्रा योजना निर्माण गरिएको छ । एउटा वडा सधैँ पछाडि पर्ने र अर्को वडा सधैँ विकसित भइरहने स्थिति हुनु हुँदैन भन्नेमा हामी प्रस्ट छौँ । सबै वडालाई समानुपातिक ढङ्गबाट विकास होस् भन्ने हाम्रो चाहना छ ।
भौतिक पूर्वाधार निर्माणका काम भइरहेको छ त ?
भौतिक पूर्वाधार निर्माणमा सडक हाम्रो प्राथमिकतामा छ । अहिले पनि कैयौँ ठाउँमा सडक पुग्न सकेको छैन । सडक, खानेपानी, विद्युत् जस्ता विषय नभई नहुने अत्यन्तै आवश्यक कुरा हुन् । सडक नपुगेका ठाउँमा सडक पु¥याउने, पुगेका सडकलाई स्तरोन्नति गर्ने काम भएका छन् । साना कल्भर्ट निर्माणका काम पनि भएका छन् । विद्यालय भवन, स्वास्थ्य संस्थाका भवनलाई प्राथमिकता दिएर काम गरिएको छ । प्रदेश र संघीय सरकारको समन्वयमा पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् । पूर्वाधार भनेर ठूलाठूला बिल्डिङ वा संरचना बनाउनु पर्छ भन्ने पक्षमा म छैन । अहिले पनि कोहलपुर नगरपालिकाका केही वडाहरु छन्, जहाँ सहज सडकको पहुँच छैन । वडा नम्वर ७, वडा नम्वर १३, वडा नम्वर १५ पूर्वाधार विकासका हिसावले सबैभन्दा विकट पिछडिएका छन् । वडा नम्वर १३ मा ५० मिटर पिच समेत भएको छैन ।
हामी आउनुभन्दा अगाडि १५ नम्वर वडामा करिव डेढ सय मिटर मात्रै पिच थियो । हाम्रै नगरपालिकाभित्रका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सेवाका लागि त्यहाँ जानुस् भन्दा दुर्गम मानेर जान नमान्ने अवस्था छ । यस्तो हुँदा त्यहाँका नागरिकले विभेदको अनुभूति गर्छन् । त्यसो भएर उहाँहरुलाई पनि स्थानीय सरकारको अनुभूति हुनेगरी पूर्वाधार विकासका कामहरुलाई अगाडि बढाइएको छ । कही डुवान भइरहेको छ भने भने त्यहाँ नाला बनाउने, कटान भइरहेको छ भने तटबन्ध गर्ने, खेलकुदका लागि वडा तहमै खेलमैदान निर्माण गरिदिने, सामुदायिक वनहरुसँगको सहकार्य र समन्वयमा पार्कहरु निर्माण गरिदिने जस्ता कुरालाई स्थानीय सरकारले प्राथमिकता दिँदै आएको छ ।
शिक्षा क्षेत्र सुधारमा पालिकाले बढी प्राथमिकता दिएको देखिन्छ नि ?
कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्नका लागि शैक्षिण गुणस्तर सुधार गर्ने, भौतिक पूर्वाधार निर्माण गर्नेदेखि विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको छ । शिक्षामा दक्षजनशक्तीको व्यवस्थापन गरिएको छ । अहिले कोहलपुरमा योग्य र दक्ष जनशक्तिको धेरै अभाव छ । तथापि धेरै सरकारी विद्यालयहरुमा विषयगत शिक्षकको अभावलाई हामीले पूर्ति गरेका छौं । तर निजी विद्यालयमा अझैपनि समस्या छ । ९–१० कक्षामा पढाउने एउटा शिक्षकको योग्यता भनेको जम्मा प्लस टु मात्रै छ । किन छ भने उनीहरुलाई दिइने तलवभत्ता अत्यन्तै न्यून छ । यदी राम्रो सेवा सुविधा दिने हो भने त योग्य शिक्षक पाइन्छ नि । त्यसैले हामीले संस्थागत वा सामुदायिक विद्यालयहरुमा योग्यता पुगेका दक्ष विषयगत शिक्षक परिपूर्ति गर्न खोजेका हौं ।
शिक्षण संस्थाहरुमा नाताभित्रका घरपरिवारभित्रकै अयोग्य शिक्षकहरुले पठनपाठन गराइरहेको अवस्था देखिन्छ । त्यसो भएकाले न्यूनतम पारिश्रमिक निर्धारण गरेर योग्य शिक्षक ल्याइनुपर्छ । र, परीक्षा प्रणालीलाई मर्यादित बनाउनैपर्छ भनेर हामी लाग्यौं । यी दुई तीनवटा कुरालाई मात्र हामीले ख्याल गर्न सक्यौं भने कोहलपुरको शैक्षिक गुणस्तर वृद्धि हुन्छ । एकाएक हामी शैक्षिक सुधारको प्रक्रियामा जाँदै गर्दा तत्कालका लागि केही धक्का लागेको महसुस भएपनि कालान्तरमा यसले कोहलपुरको शिक्षालाई फाइदा हुन्छ । विद्यार्थीहरुमा अव कोहलपुरका विद्यालयमा भर्ना हुने हो भने नपढी हुँदैन भन्ने भावनाको विकास हुन्छ । नपढ्ने केही विद्यार्थी वाहिर गएपनि पढ्ने विद्यार्थी कोहलपुरमै भर्ना हुन्छन् र अभिभावकहरुले पनि ढुक्क भएर आफ्ना बालबालिका कोहलपुरमा पढाउँछन् । कोहलपुरमा पढाइका लागि राम्रो वातावरण निर्माण गर्नु नै यो अभियानको मुख्य उद्देश्य पनि हो ।
सम्वृद्ध पालिका बनाउन उत्पादन महत्वपूर्ण हुन्छ, त्यसतर्फ के के काम भइरहेको छ ?
तपाईले एकदमै सहि कुरा भन्नुभयो । कृषिबाट होस् वा उद्योगबाट होस् उत्पादनलाई त जोड दिनै पर्छ । तर दुर्भाग्य हामीकहाँ कतिपय संघीय ऐन कानुनले पनि धेरै ठूला समस्या बनाएका छन् । हाम्रा किसानहरुले मिहिनत र लगानी गरेर उत्पादन गर्छन् । तर त्यसको उचित बजार र मूल्य पाउँदैनन् । अहिले कोहलपुरकै १३ नम्वर वडामा हेर्ने हो भने किसानहरुले राम्रो उत्पादन गरिरहेका छन् । त्यहाँको उत्पादन लागत उच्च छ । भारतबाट भन्सार छली गरेर आउने अस्वस्थकर तरकारीले यहाँको उत्पादनलाई विस्थापित गर्ने गरेको छ ।
यसले नेपाली किसान मारमा परेका छन् । कुनैबेला मासु, दूध जस्ता बस्तु भारतबाट आउथ्यो, तर अहिले बन्द छ । त्यसैगरी भारतबाट आउने तरकारी बन्द गरिनुपर्छ । यस्ता कुरामा नीतिगत निर्णय गरेर त्यस्ता आयातहरुलाई निरुत्साहित गरिनु पर्छ । यदी यसो गर्न सकियो भने १३ नम्वर वडामा गरिने तरकारी खेतीले सिंगो कोहलपुरलाई तरकारीमा आत्मनिर्भर बनाउन सक्छ । त्यसैगरी व्यवसायमा पनि आयातित बस्तुको असर परिरहेको छ । यहाँ कतिपय घरेलु तथा साना मझौला र ठूला उद्योग पनि छन् । तर सीमा क्षेत्रबाट चारेर वा मिलेमतोमा आउने बस्तुले त्यस्ता उत्पादनलाई पनि विस्थापित गरिदिएको अवस्था छ । यो हाम्रो तहबाट हामीले नियन्त्रण गर्न सक्ने कुरा होइन् ।
जनगुनासोलाई कसरी सम्बोधन गर्दै आउनुभएको छ ?
सबैका आआफ्नै गुनासा छन् । कोही मेरो टोलमा बाटो पुगेन भनेर गुनासो गर्न आउनुभएको छ भने कोही पक्की बाटो बनाउनु प¥यो भन्नुहुन्छ । कसैले जागिर लगाइदिनु प¥यो भन्नुहुन्छ । एक हिसाबले भन्ने हो भने गुनासोको भारी बिसाउने थलो स्थानीय सरकार बनेको छ तर हाम्रो बाध्यता छ । हामीसँग स्रोतसाधन निकै कम छ । नागरिकको अपेक्षा ठुलो छ । त्यो हिसाबले धेरैका गुनासालाई एकै पटक सम्बोधन गर्न सकिएको छैन तर क्रमशः काम भइरहेका छन् । सामूहिक गुनासोलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।
आर्थिक पारदर्शिता र जवाफदेहिताको स्थिति कस्तो छ ?
आर्थिक पारदर्शिता र जवाफदेहिता हाम्रो मुख्य प्राथमिकतामा छ । निर्वाचित भएर आएदेखि सचेततापूर्वक काम गरेका छौँ । संस्थागत रूपमा काम गरेका छौँ । तेलमा हुने कुपन प्रणाली खारेज गरिएको छ । हाम्रा हरेक निर्णय सार्वजनिक गर्ने गरिएको छ । नगरपालिकाको आफ्नै फेसबुक पेज छ । त्यसमार्फत कार्यपालिकाका बैठकका निर्णय होस् वा सूचना । सबै सार्वजनिक गर्ने गरेका छौँ । हामी निर्वाचित भएर आएपछि कोटेसन खारेज गरेका छौँ । कोटेसन शून्य हुने कोहलपुर नगरपालिका देशभरकै पहिलो स्थानीय तह नै होला भन्ने मलाई लागेको छ । कोटेसनबाट कार्यक्रम होस् वा ठेक्का पट्टा दिँदा त्यसले आर्थिक पारदर्शिता देखिएन । आफू अनुकूलका र नजिकका मान्छे मात्र समेटिने र कार्यक्रम प्रभावकारी पनि नहुने भएकाले कोटेसन प्रणाली खारेज गरेर टेन्डर प्रक्रिया अवलम्बन गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्