कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
१७ औं नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगिता सुवेदीले बजेट प्रस्तुत गरेका हुन् । कोहलपुरको समग्र विकास र समृद्धिलाई जोडेर नगर प्रमुख आचार्यले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपप्रमुख सुवेदीले आगामी वर्षका लागि एक अर्ब १६ करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।
‘हरित, संगमस्थल हाम्रो शहर : सुन्दर, समृद्ध कोहलपुर नगर’ भन्ने मुख्य नाराका साथ नीति तथा कार्यक्रम ल्याइएको हो । कोहलपुरका १८ हजार भन्दा बढि भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी लालपूर्जा वितरण गर्ने, स्मार्ट डिजिटल बोर्ड जडान गर्ने, जनतासंग नगर प्रमुख संवाद कार्यक्रम, हरित नगरपालिका बनाउन थप १० हजार बिरुवा रोपी संरक्षण गर्ने, फुटबल प्याराफिट निर्माण गर्ने, कोहलपुर साहित्यिक महोत्सव सञ्चालन गर्ने, शैक्षिक तालिम केन्द्र स्थापना गर्ने, विज्ञान प्रयोगशाला पार्क स्थापना गर्ने, जैविक बनबाटिका निर्माण गर्ने र मिसन रोजगारी अभियान जस्ता लोकप्रिय कार्यक्रम नीती तथा कार्यक्रममा समेटिएका छन् ।
यस्तै शैक्षिक तालिम केन्द्रको विकास गर्ने, उत्कृष्ट शिक्षक छनोट गर्ने लगायत शिक्षक बैंक, शैक्षिक सामग्री बैंक, बाल संरक्षण कोष स्थापना गर्ने र साथीबाट सिक्ने, साथीलाई सिकाउने, पढ्दै कमाउँदै कार्यक्रम गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै खेलकुद तर्फ कोहलपुरलाई प्रतिनिधित्व गर्ने जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई उचित सम्मान सहित पुरस्कारको व्यवस्था गर्न कार्यविधि निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै स्वास्थ्य तर्फ प्रेसर, सुगर मृगौला रोग न्यूनिकरण गर्न ४० वर्ष माथिका सबै नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने, ३० वर्ष माथिका सबै महिलाहरुको निःशुल्क पाठेघर मुखको क्यान्सर स्किलिन गरिने, स्थानिय कृषि उपज तथा रैथाने बाली उपभोग गर्न भान्सा सुधार कार्यक्रम प्रोत्साहन गर्ने र सर्पदंश उपचार केन्द्रको व्यवस्थापन गर्ने कोहलपुरले नीति लिएको छ ।
कोहलपुर नगरपालिकाको आन्तिरिक कर तथा गैरकर राजस्व १५ करोड ५० लाख, संघिय सरकारबाट प्राप्त १८ करोड २ लाख, संघिय सशर्तबाट प्राप्त ४० करोड ३३ लाख, संघिय समपुरकबाट प्राप्त ९२ लाख, संघिय राजस्व बाँडफाँड भई प्राप्त हुन आउने १६ करोड २९ लाख ३९ हजार ९ सय ६९ रुपैया, प्रदेश सरकारबाट प्राप्त हुने सामानिकरण अनुदान १ करोड ३० लाख ५१ हजार, प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान १ करोड १५ लाख, प्रदेश सर्शत तर्फ २ करोड ८ लाख, प्रदेश समपुरक अनुदान १ करोड २० लाख, स्थानिय राजस्व बाँडफाँडबाट प्राप्त हुने १२ करोड ५० लाख र चालू आर्थिक वर्षबाट अल्या भई आउने ६ करोड ६४ लाख ५१ हजार ३१ रुपैया समेतलाई आधारमा आगामी वर्ष २०२÷०८३ को कुल १ अर्ब १६ करोड ७० लाख रुपैया विनियोजन गरेको कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले बताइन् ।
प्रशासनिक खर्च कुल बजेटको २८.७९ प्रतिशत, पूर्वाधार विकासमा ४०.९६ प्रतिशत, शिक्षा क्षेत्रमा १४.२३ प्रतिशत, वडा स्तरीय योजनामा १०.३४ प्रतिशत, स्वास्थ्य आयूर्वेद सहित १.५६ प्रतिशत, सुशासन तथा संस्थागत विकासमा ०.७८ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनमा ०.६७ प्रतिशत, कृषि विकास उपशाखामा ०.५१ प्रतिशत, पशुपंक्षी तथा मत्स्य विकासमा ०.४९ प्रतिशत, सामाजिक विकासतर्फ ०.४४, महिला बालबालिका तथा सामाज कल्यानमा ०.४३ प्रतिशत, रोजगार सेवा केन्द्रमा ०.१३ प्रतिशत र उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण सहकारी र पर्यटनमा ०.१२ प्रतिशत विनियोजन गरेको उपप्रमुख सुवेदीले जनाइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्