‘म यस्तो गीत गाउँछु २’को थारु भाषाको प्रमोसनल गीत सार्वजनिक (भिडियाे)




नेपाली चलचित्रको प्रमोसनमा मेकरहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले पनि प्रचारका लागि नयाँ शैली अपनाएको छ । यो चलचित्रको निर्माणपक्षले विभिन्न भाषामा गीत र भिडियो तयार पार्दै आमदर्शकमा पुग्ने नयाँ कोशिश गरेको छ ।

बुधबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको थारु र नेवारी भाषामा तयार पारिएको प्रमोसनल गीत प्रदर्शन गरियो । जसमध्ये युट्युबमा थारु भषाको गीत सार्वजनिक गरिएको छ भने बिहीबार नेवारी भाषाको गीत र भिडियो सार्वजनिक गरिनेछ ।

नरेश जोगी र मधु चौधरीको स्वरमा तयार थारु भाषाको गीतमा नरेशकै शब्द तथा संगीत छ । भिडियोमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र पूजा शर्मालाई स्टारको रुपमा देखाइएको छ । सौैरभ लामाले खिचेको भिडियोको कोरियोग्राफी विक्रम चौहानले गरेका हुन् । निर्देशक सुदर्शन थापाले विभिन्न सात भाषामा गीतको भिडियो तयार पार्ने योजना भएपनि कोरोना र रिलिज मिति नजिकिएका कारण नसकिएको बताए । उनले अन्य चलचित्रमा विभिन्न भाषामा गीत तयार पार्ने वाचा गरे ।

अभिनेता पल शाहले आफूले थारु भाषाका गीतहरुमा काम गर्न थालेपछि यो सोच आएको बताए । आफू हरेक वर्ग र समुदायका दर्शकसम्म पुग्न चाहेको उनको भनाइ थियो । अभिनेत्री पूजा शर्माले पनि थारु, नेवारी भाषाका गीतको भिडियोमा काम गर्न पाउँदा खुसी लागेको बताइन् । सुदर्शन थापा निर्देशित चलचित्रमा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डीसी लगायतको अभिनय छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ५ गते बिहीबार