कोहलपुरमा मनाइयो विश्व बाघ दिवस




कोहलपुर ।

बाँकेको कोहलपुरमा आज विश्व बाघ दिवस मनाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालय कोहलपुरको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कोहलपुर बजार परिक्रमा गरेर पुनः सेक्टर कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा निकुञ्ज संरक्षणमा हातेमालो गर्दै आएका तराई भुपरिधि कार्यक्रम (ताल) जेडएसएल नेपाल, हिमालयन नेचर, मध्यवर्ती क्षेत्र उपभोक्ता समिती, सामुदायिक वन, चोरी शिकारी नियन्त्रण युवा सञ्जाल, ईको क्लबका विद्यार्थीहरुको सहभागितामा विभिन्न झाँकी सहित विहान कोहलपुरमा प्रभातफेरी समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बाघ नेपालको लागि गौरवको विषय बनेको बताए । ‘बाघ संरक्षणमा नेपाल अग्र स्थानमा रहेको सर्वविदितै छ’, उनले भने, ‘अब बाघलाई अर्थतन्त्रसँग जोडेर आर्थिक समृद्धि ल्याउन आवश्यक छ ।’ अब बाघ व्यवस्थापन गरेर मध्यवर्ती क्षेत्रका बासिन्दाले सावधानी अपनाउन सके बाघ र मानवबीच सहअस्तित्व कायम गर्न सकिने खड्काले बताए ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले जलजंगल र जमिनको स्वस्थ पारीस्थितिकीय प्रणाली तथा समृद्धिका लागि बाघ र वन्यजन्तुको संरक्षण अति महत्वपूर्ण रहेको बातईन् । निकुञ्ज बिस्तारसँगै बाघको संख्या बृद्धि हुँदै जाँदा निकुञ्ज मध्यवर्ति क्षेत्रमा बाघ र वन्यजन्तुबाट स्थानीयलाई क्षति भन्दा लाभ कसरी लिन सकिन्छ भन्ने तर्फ संरक्षणकर्मीहरुको ध्यान जान आवश्यक रहेको उनले बताईन् ।

सन् २०१० मा स्थापना कालमा ४ वटा पाटे बाघबाट अहिले २५ पु¥याउन सफल भएको र अझैँ बृद्धि हुनेक्रम जारी रहेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार साहले बताए ।

‘हामी टुरिजमको कुरा गर्छौ तर, हामीसँग बाघ हुँदाहुँदै बाघ हेर्ने मान्छे भित्र्याउन नसक्नु कमजोरी हो’, ‘उनले भने, ‘हामीसँग निकुञ्ज भित्र सबै पुर्वाधार छ ।’ एकपटक मात्र विदेशी पर्यटक भित्र्याउने श्रृंखलाको सुरुवात गर्न सक्यौं भने पर्यटकको रोजाई बाँके राष्ट्रिय निकुञ्ज पर्ने वरिष्ठ संरक्षण अधिकृत साहले बताए

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार