डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

धनगढी ।

दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ । बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।

घाइते अवस्था धनगढी पुर्‍याइएकी दार्चुलाको लेकम गाउँपालिका-६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।

यस्तै दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका- ६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका- ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी- ३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका -४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् ।

उनीहरूको उपचार जारी भएपनि अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।