मधेश प्रदेश श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे मेलाको अवलोकन

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेश प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन् ।
मेलाको शुरुवागत भएको पहलिो दिन जेठ १९ गते शनिवार करिव तीन हजार पाँच सय र २० गते आईतवार करिव दुई हजार पाँच सयले मेलाको अवलोनक गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरुलाई अन्तरवार्ताको लागि बोलाइएको छ ।

मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु–४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिवार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उदघाटन गरेका थिए । त्यस्तै मेलामा माननीय प्रदेश श्रम तथा यातायत मन्त्री बेची लुगेलीको उपस्थिति रहेको थियो ।

मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सुचनाको असर, मधेशमा महिला उद्यमी संघर्ष विचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो । उक्त प्यानल छलफलमा करिव २ हजार जनाको उपस्थिति रहेको थियो ।

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम’ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुर, कलैया, जीतपुरसीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका थिए । मेलामा सहयोग पुर्याउने सबैलाई आयोजकका तर्फवाट प्रशंसापत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।