प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहने छन् ।

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

नेपाल प्रहरीको अवकाशको उमेर हद पद अनुसार फरक फरक छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु ५८ वर्षमा अनिवार्य अवकाशमा जाँदैछन् । तर यी तीन वटै सुरक्षा निकायले भने उमेरहद बढाएर ६० वर्ष पुर्‍याउनुपर्ने लबिङ गर्दै आएका थिए ।

जामती कर्मचारीको उमेरहद पनि हाल ५८ वर्ष नै रहेको छ । संसदमा विचाराधीन संघीय निजामती सेवा विधेयकमा भने ६० वर्ष प्रस्ताव गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सुरक्षाकर्मीहरुको अवकाशको उमेर हदलाई पुनरावलोकन गर्ने उल्लेख छ । बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।