कोहलपुरमा शिक्षकले तलब नपाएको भन्दै ज्ञापनपत्र बुझाए

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा स्वास्थ्यकर्मी र शिक्षकले महिनौदेखि तलब नपाएका भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

कोहलपुर नगरपालिकामा रहेका शिक्षक विभिन्न संघगठनहरुले सामुदायिक विद्यालयहरुमा कार्यरत नगर अनुदान शिक्षक, शिक्षण सहजकर्ता, विद्यालय कर्मचारी र बालविकासका शिक्षकहरुलाई नगरपालिकाले विगत ४ महिनादेखि तलब नआएको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल शिक्षक महासंघको लेटर प्याडमा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यलाई कोहलपुरका ७ शिक्षकका संगठनहरुले संयूक्त रुपमा ज्ञापन पत्र बुझएका हुन् ।

शिक्षक महासंघ कोहलपुरका सचिव धर्मराज रेग्मीले सम्बन्धीत पक्षसंग अनौपचारीक र औपचारिक रुपमा पटक पटक जानकारी गराउँदा पनि अहिलेसम्म सुनुवाई नभएको भन्दै ज्ञापन पत्र बुझाएको ७ दिन भित्र समस्याको समाधान नभए चरणबद्ध आन्दोलन गर्ने बताए ।

उनका अनुसार ज्ञापन पत्र बुझएको ७ दिनपछि १६ गतेदेखि १९ गतेसम्म कालोपट्टी बाँधेर पढाउने, २० गतेसम्म लेखा तथा कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने, २२ देखि २४ गतेसम्म पालिका स्तरीय शैक्षिक हड्तालको प्रचारप्रसार गर्ने र २५ गते पालिका स्तरीय अनिश्चित कालिन शैक्षिक हड्ताल गर्ने बताए ।

कोहलपुर नगरपालिकामा करिब ३९ जना नगर अनुदान, करिब ३९ जना शिक्षण सहजकर्ता र बालबालिकाका गरी करिब १ सय ५० भन्दा बढि रहेका छन् ।