बाँकेपछि सुनसरीमा पनि चल्यो गोली

काठमाण्डौं ।

सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा गोली चलेको छ । काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन् । उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्यूरोका एकजना अधिकृतले बताए ।

मण्डलसँगै रहेका श्यामसुन्दर निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूको साथबाट प्रहरीले २ सय १० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।

यस्तै बैशाख २७ गते बाँकेमा पनि लागू औषध कारोबारी सुशिल परियारलाई पक्राउ गर्न गोली चलाउनु परेको थियो । लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र बाँके प्रहरीको संयुक्त टोली जानकी गाउँपालिका ६ पुगे लगतै कारोबारीहरु भागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको थियो ।

उनीहरुको साथबाट १ सय १० ग्राम ब्राउन सुगर बरामद भएको ब्युरोले जनाएको छ ।