कोहलपुरको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण

कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आज काठमाडौंस्थित गृहमन्त्रालयमा पुगेर लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

‘ठिक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन समेत भएको छ नगर प्रमुख आचार्यले भने–‘तत्काल प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छौं । समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिनु भएको छ ।’

अबको केही दिनमा बाँकेले प्रमुख जिल्ला अधिकारी पाउने र अतिक्रमित जमिन खाली गराउने कामलाई निरन्तरता दिने प्रतिवद्धता गृहमन्त्रालयबाट प्राप्त भएको पनि नगर प्रमुख आचार्यले बताए ।