बैजनाथमा रैथाने बाली उत्पादन प्रविधि सम्बन्धि तालिम सुरू

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले किसानहरुलाई रैथाने बाली उत्पादन प्रविधि सम्बन्धी ३ दिने तालिम सुरु गरेको छ । आज बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले उद्घाटन गर्दै रैथाने बाली उत्पादन प्रविधि सम्बन्धी ३ दिने तालिम सुरु भएको हो ।

उद्घाटन गर्दै पालिका अध्यक्ष शाहीले किसानहरुलाई व्यवसायीक तरकारी खेती उत्पादन तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ तालिम सुरु गरेको बताए । पालिकामा ७० प्रतिशत भन्दा बढि किसानहरु रैथाने बाली लगाउने भएकोले सो खेतीलाई प्रविधिसंग जोडेर थप उत्पादनमा सहयोग पुग्ने किसिमले तालिमको आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।

यस्तै बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विश्वराज ढकालले प्रविधिसंग नजिक बनाई उत्पादन बृद्धि गरी किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउने मुख्य प्राथमिकता भएको बताए ।

यस्तै बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले किसानलाई प्रविधि र प्रकृतिसंग जोड्न अति आवश्यक रहेको बताए । किसानहरुलाई आधुनिकिकरण प्रविधि र प्रकृतिसंग जोडेर कुन समयमा के कस्तो खेती आवश्यकता छ? कुन समयमा के गर्ने ? के कसरी सिचाई गर्ने ? कुन कुन बेलामा सिचाई गर्ने ? लगायत विभिन्न विषयमा तालिम दिइने विश्वकर्माले बताए ।

यस्तै कार्यक्रमका सभापति आर्थिक विकास समिति संयोजक प्रेम बहादुर शाहीले रैथाने बालीको माग बढि भएपछि रैथाने बाली उत्पादनमा प्रवद्र्धन गर्ने आवश्यक रहेको बताए ।

फापर, भटमास, कोदो स्थानीय जातका धान, गहुँ, मकै, स्थानीयस्तरमै पाइने विभिन्न प्रजातिका फलफुलहरू रैथाने बाली भित्र पर्दछन् । तालिममा ८ वटै वडाका २३ जना किसानहरु सहभागि छन् ।