कोहलपुरका विद्यालयमा गुणस्तरीय स्यानिटरी प्याड वितरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका भित्र सञ्चालन रहेका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय स्यानिटरी प्याड वितरण गरिएको छ ।

नगरपालिकाले गुणस्तरीय हिन भएको भन्दै गतवर्ष खरिद कम्पनीले गुणस्तरहीन प्याड खरिद गरेका कारण उक्त कम्पनीको ११ लाख ६५ हजार धरौटी जफत गर्दै नगरपालिकाले कालो सूचिमा राखेको थियो ।

अहिले कोहलपुर नगरपालिकाले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण गरेको हो ।

नगर शिक्षा तथा खेलकुद शाखाले विद्यालयका प्रअ तथा प्रतिनिधिहरुलाई आज नगरपालिकामा बोलाएर स्यानिटरी प्याड वितरण गरेको नगर शिक्षा अधिकृत रविलाल मिजारले बताए ।

‘कक्षा ६ देखि १२ कक्षाका किशोरीहरुलाई लक्षित गरेर ७५ हजार ७ सय प्याकेट स्यानिटरी प्याड वितरण गरिएको छ, उनले भने, ‘विद्यालयमा अध्ययनरत छात्राहरुको अनुपात अनुसार प्याड वितरण गरिएको हो ।’ साढे ५९ लाख बजेटबाट आगामी भदौ महिनासम्म पुग्ने गरी पाँच हजार २ सय ३२ जना छात्राहरुलाई पुग्ने गरी स्यानिटरी प्याड वितरण गरिएको मिजारले बताए ।

यस्तै विद्यालयमा पुग्दा पनि छात्राहरुले गुणस्तरीय प्याड नपाएको गुनासो सुनाउने गरेको भन्दै यो पटक त्यस्तो अवस्थाको अन्त्य भएको नगर शिक्षा अधिकृत शिला गौतमले जानकारी दिइन् ।

प्रत्येक विद्यालयमा महिला शिक्षकले वितरण गर्ने गरी एउटा समिति बनाउने छौ,’ समितिले लक बुक तयार पारी किशोरीहरुले लिएको प्याडको समेत रेकर्ड राखी पालिकामा पठाउने व्यवस्था मिलाईएको गौतमले बताइन् ।

यस्तै स्यानिटरी प्याड वितरण कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख संगीता सुवेदीले गुणस्तरीय प्याड वितरण गरिएको बताइन् ।

‘गत वर्षमा गुणस्तरहिन प्याड वितरण भयो भन्दै व्यापक गुनासो आयो’, उनले भनिन्, ‘यो पटक अल्ट्रा साइज भनेरै टेण्डर खुलाएका थियौ त्यसलाई गुणस्तर विभागले नै ठिक छ भनेपछि हामीले खरिद गरेका हौं ।’ गतवर्ष गुणस्तरहीन प्याड खरिद गरेका कारण समस्या भएको स्मरण गर्दै उनले यो पटक अत्यन्तै गुणस्तरीय प्याड वितरण गर्न पाउँदा आफु खुसी भएको पनि बताइन् ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्याड वितरणसँगै त्यसको डिस्पोजका निमित्त मेसिनको समेत व्यवस्थापन गरिएको बताए ।

‘यो पटक १३ वटा मेसिन वितरण गर्न लागेका छौं,’ उनले भने, ‘ती मेसिनहरु पनि केही प्राविधिक चेकजाँच कतिको गुणस्तर छ ? भनी परिक्षण गरेपछि मात्र वितरण गर्ने छौं ।’

यो वर्ष माध्यामिक विद्यालयमा मेसिन वितरण गर्न लागिएको बताउँदै अर्को वर्षदेखि आधारभूत विद्यालयमा पनि मेसिन वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

यस्तै नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर हमालले प्याडको व्यवस्थापनमा ध्यान दिन विद्यालयलाई सुझाव दिए । प्याडको भण्डार राम्रोसँग नगरिँदा खेर जाने जोखिम छ त्यसैले विद्यालय प्रशासनले ध्यान दिनुपर्ने हमालले बताए । प्याड वितरण कार्यक्रममा विद्यालयका प्रअ, शिक्षक, पत्रकार समेत उपस्थित रहेको थियो ।