Kohalpur Today Header Ads

आज सरस्वती पूजा




काठमाडौँ ।

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी बुधवार सरस्वती पूजा मनाइदैछ । सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ ।

भक्तपुरको सरस्वती खेल, काठमाडौंको स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेले र अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

LIfe Ok

राष्ट्रपति रामचन्द्र पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन् ।

सरस्वती पूजा, माघ शुक्ल पक्षको पञ्चमी तिथिलाई श्री पञ्चमी वा वसन्त पञ्चमी भनिन्छ । ‘श्री’ भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री देवी सरस्वतीलाई बुझिन्छ । श्री पञ्चमीमा देवी सरस्वतीको पूजा आराधना गर्ने विधान छ । वैदिक कालमा वसन्त ऋतुको मधु मास (आर्तव चैत्र मास) मा यो पर्व मनाउने गरेको प्रमाण पाइन्छ । कालान्तरमा वार्हस्पत्य संवत्सरको लौकिक पञ्चाङ्ग चलनमा आएपछि माघ शुक्ल पक्षको पञ्चमी तिथिमा श्री पञ्चमी / सरस्वती पूजा मनाउन थालियो ।

आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ ।

कसरी मनाउने ?

घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान् श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्बिर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलश स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहका विधिवत् पूजा गरिन्छ ।

सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दूर र अन्य श्रृंगारको वस्तु चढाउने र फूल माला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।

‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठ पटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिस्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन २ गते बुधबार