शनिबार नेपाल र चिनियाँ टोलीबीच मैत्रीपूर्ण खेल

काठमाडौं ।

चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ।

चीनको चिङ्घाइ फुटबल क्लबको टोली र नेपालको यु-२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो। मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रो भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरूले जनाएका छन्। खेलको पूर्वसन्ध्यामा शुक्रबार दशरथ रंगशालमा आयोजित प्रिम्याच कन्फ्रेन्समा यु-२३ फुटबल टिमका कप्तान मनिष डाँगीले खेलका लागि राम्रो तयारी भएको नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे। सबै खेलाडीहरूको ध्यान शनिबारको खेलमा रहेको उनले बताए।

त्यस्तै मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले खेलाडीहरूले प्रशिक्षणका क्रममा राम्रो गरेकाले नतिजा पनि राम्रो आउने बताए। उनले नेपाली फुटबलको भविष्यका लागि पनि खेल महत्वपूर्ण हुने जनाए।

त्यस्तै चिनियाँ युवा टोलीका प्रशिक्षक तथा खेलाडीले मैत्रीपूर्ण खेललाई निकै उत्साहका रूपमा लिएको र नतिजा राम्रो आउने बताएका थिए। चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो। खेलका लागि साधारण प्याराफिटतर्फ ३ सय र भिआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ। मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने नेपाली राष्ट्रिय युवा फुटबल टिमको घोषणा भइसकेको छ।