कोहलपुर । कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा भएको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ मा मावितर्फ दिपज्योति र आवितर्फ हिमालय विद्या निकेतनले उपाधि लिएको छ ।
४ गतेबाट सुरु भएको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ मा दिपज्योति सेकेन्डरी स्कुल चिसापानीले उपाधि लिएको छ । दिपज्योतिले ५ स्वर्ण, १ रजत, ३ कास्य पदक प्राप्त गरी उपाधि लिएको छ भने आधारभूत तहतर्फ हिमालय विद्या निकेतनले ४ स्वर्ण ५ रजत, १ कास्य पदक प्राप्त गरी उपाधि लिएको हो ।
यस्तै मावितर्फ हिमालय विद्या निकेतनले २ स्वर्ण, ५ रजत र १ कास्य गरी द्धितीय भएको छ भने प्रयत्न ईमि स्कुल २ स्वर्ण, २ कास्य प्राप्त गरी तृतीय भएको छ ।
यस्तै आवितर्फ जनज्योति पब्लिक हाई स्कुल ३ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी द्धितीय भएको छ भने ग्रिन पिस सेकेन्डरी स्कुलले २ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गरी तृतीय भएको छ ।
प्रतियोगितामा मावितर्फ १०० मिटर दौड, ४ गुणा १०० मिटर रिले दौड, भविबल, लङ्गजम्प, सटपट, ४०० मिटर दौड (छात्रा) र १५०० मिटर दौड
(छात्र) रहेको थियो भने आवितर्फ बास्केट बल थ्रो, १०० मिटर दौड, ४ गुणा १०० मिटर रिले दौड, म्यूजिकल चियर, लङ्गजम्प र सटपट रहेको थिए ।
समापन कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले प्रथम, द्धितीय र तृतीय पुुरस्कार वितरण गरेका थिए ।
कोहलपुरमा खेलकुदको हबको रुपमा विकास गइरहेको हुँदा तेह्र विगाह र क्रिकेट मैदानलाई स्तर उन्नतीका लागि नगरपालिका सकारात्मक रहेको बताए ।
कोहलपुरका खेलकुदका मैदानहरुको अभाव हुन नदिन नगरपालिकाले खेलमदानहरुलाई संरक्षण गर्ने र विभिन्न खेलकुदका कार्यक्रम गर्ने योजना सहित अगाडी बढेको उनको भनाई थियो ।
यस्तै क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल गराउन सहयोग गर्नुभएका सम्पूर्ण खेल प्रशिक्षक, क्रिसामा आबद्ध विद्यालय, पत्रकार, सुरक्षा निकाय, फिल्ड मास्टर लगायत अन्य सरोकारला व्यक्तित्वहरुमा कृतज्ञता व्यक्त गरे । आगामी दिनहरुमा समेत यहाँहरुको साथ, सहयोग र सल्लाह हुने विश्वास समेत व्यक्त गरेका थिए ।
यस्तै प्रतियोगितामा सहयोग गरेको भन्दै फिल्ड मास्टर नवकिरण शाह, अन्य अफिसियल टिम, क्रिसामा आबद्ध सदस्य लगायत अन्य विभिन्न सुरक्षा निकाय, पत्रकारहरुलाई सम्मान गरेको थियो । क्रिसा बाँकेका सचिव प्रकाश मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्