काठमाडौं ।
पश्चिमी वायुको प्रभावले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात हुने भएको छ ।
पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ ।
कहाँ कस्तो वर्षा ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार सबैभन्दा धेरै डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।
‘१० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ, यस अनुसार पश्चिम नेपालका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भएको छ,’ मौसमविद झाले भने ।
पहाडी क्षेत्रको तुलनामा पश्चिमकै तराई क्षेत्रमा भने कम पानी परेको छ भने बाँकेको नेपालगञ्जमा १ मिलिमिटर मात्र वर्षा हुने भएको छ ।
हिउँदे वर्षा बालिनालीलाई किन आवश्यक ?
जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर प्रक्षेपण गरेअनुसार हिउँदे वर्षा भएको छैन ।
विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर हिउँदयामको एक महिना बितिसक्दा पनि प्रक्षेपण अनुसार हिउँदे वर्षा भएको छैन ।
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।
तर पर्याप्त पानी नपरेका स्थानमा किसानहरुलाई मर्का परेको छ । यही हिउँदको बेला तराई क्षेत्रमा गहुँ खेती गरिएको हुन्छ । सामान्यता मंसिरमा गहुँ छर्ने किसानहरुलाई त्यसको करिब एक महिनापछि सिंचाइको आवश्यकता हुन्छ । किनभने गहुँले जरा फैलाउने र गाँज फस्टाउने बेला यही हो ।
‘गहुँ छरेको करिब २३ देखि एक महिनाको बीचमा गहुँलाई सप्रिन सिंचाइ चाहिन्छ । कुलोपानी नलाग्ने ठाउँमा आकासे वर्षा पनि भइदिएन भने बाली सप्रिँदैन,’ पूर्व वरिष्ठ कृषि प्रसार अधिकृत अम्मरराज शर्मा भन्छन्, ‘त्योभन्दा ढिला पानी पर्यो भने पनि अन्न र तरकारी खेती फस्टाउँदैन ।’
उनले भने, ‘हिउँदे बाली र तरकारी सप्रिन कम्तिमा पाँच सेन्टिमिटर भिज्ने गरी पानी पर्नुपर्छ । यदि पानी परेन र जाडो बढ्यो भने आलु, टमाटर लगायत तरकारी बालीमा पनि असर गर्छ ।’ पहाडी क्षेत्रमा परेको पानी र हिउँले त्यहाँका किसानलाई फाइदा भए पनि तराई क्षेत्रका किसानका लागि भने यो पानी अपर्याप्त रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्