भ्यू टावर सञ्चालनमा, प्रवेश शुल्क ७५ लाग्ने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ गोलपार्कमा रहेको भ्यू टावर सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिकाले विभिन्न मितिमा टेन्डर गर्दा समेत कोही कसैले पनि टेन्डर नहालेपछि कोहलपुर नगरपालिका स्वयम् आफैले सञ्चालन गरेको हो ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्माले पश्चिम नेपालमा पर्यटक क्षेत्रको रुपमा विकास गर्न भ्यू टावरले ठुलो सहयोग गर्ने जानकारी दिइन् ।

‘कोहलपुर नगरपालिकाको मात्र होइन’, उनले भनिन्, ‘बाँके जिल्लामा नै यसको परिचय र  महत्वको विषयमा जानकार हुनुपर्छ ।’ कोहलपुरका आम बासीहरुलाई कोहलपुरको भ्यू टावरमा गएर मनोरञ्जन गर्न वडा अध्यक्ष अधिकारीले आग्रह गरिन् ।

यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्माले कोहलपुर नगरपालिकाको दिर्घकालिन सोचका साथ निर्माण भएको भ्यू टावर सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताए ।

कोहलपुर नगरपालिका आफै सञ्चालन गर्नुभन्दा अन्य ठेक्का प्रक्रियाबाट दिन खोजेका थियौं तर कोही कसैले ठेक्का नहालेपछि आफैले सञ्चालन गर्नुपरेको सामाजिक विकास समिति संयोजक विश्वकर्माले बताए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख गोपीकृष्ण सुवेदी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारी, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी अर्जून पनेरु लगायत अन्य स्थानियहरुको समेत उपस्थिति रहेको थियो । कोहलपुर भ्यू टावरको पहिलो टिकट डा. प्रज्ञा घिमिरेले काटेकी थिइन् । भ्यू टावर प्रवेश शुल्कप्रति व्यक्ति रू ७५ कायम गरिएको छ ।