कलिला बालबालिकासंग कोहलपुरका नगर प्रमुख आचार्य

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले नगर प्रमुख आचार्यले विद्यार्थीका समस्या नै मुल एजेण्डा रहेको बताएका छन् ।

विहिबार कोहलपुर नगरपालिका-११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय बगियामा भएको ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ मा बोल्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् ।

कोहलपुर नगरपालिकाले शिक्षालाई विशेष बढि प्राथामिकतामा राखेको छ ।

विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षकहरुले गरिरहेका गतिविधि र बालबालिकाका समस्याका बारेमा जानकारी लिई समाधान गर्ने योजना सहित ‘विद्यार्थीसंग मेयर कार्यक्रम’ सञ्चालन गरिएको हो ।

‘विद्यार्थीसंग मेयर कार्यक्रम’ मा कक्षा १० मा अध्ययनरत उर्मिला खत्रीे प्रयोगशाला, शौचालय, खानेपानी, प्रथामिक उपचार, खेलकुद सामग्री र स्थानिय पाठ्यक्रमको अभावको बारेमा मेयरलाई जानकारी गराएका थिए ।

यस्तै अपाङ्गगता भएका विद्यार्थी सुशान्त थारुले ह्वलचियर नभएका कारणले विद्यालयसम्म आउन समस्या भएको बताएका थिए ।

यस्तै अर्का विद्यार्थी सुरेश विष्टले डेक्स बेन्च नभएकै कारणले कोचाकोच गरी अध्ययन गर्न निकै समस्या भएको र डिजिटल प्रणालीद्धारा अध्ययन गरिनुपर्ने लगायतका समस्या मेयरसंग दर्शाएका थिए ।

यस्तै अर्की विद्यार्थी पुजा बुढाले लागूऔषध दुव्र्यसनी, विद्यालय वरिपरी धुम्रपान र मध्यपान विक्रिवितरणमा रोक लगाउनुपर्ने जस्ता जटिल समस्या उजागरण गरेकी थिइन् ।

जवाफ दिँदै नगर प्रमुख आचार्यले ५० प्रतिशत समस्या विद्यालयको प्रअ र विव्यसबाट नै समाधान हुने बताएका छन् ।

विद्यालयमा शौचालय, खानेपानी, खेलकुद सामग्री उपलब्ध गराउन भनी बजेट विनियोजन भएकै हुन्छ, त्यसको उचित व्यवस्थापन र सदुपयोग कसरी गर्ने भन्ने प्रअ र विव्यस नै जिम्मेवारी हुने आचार्यले बताए ।

आचार्यले प्राथमिक स्वास्थ्य उपचार गर्न प्राथमिक उपचार केन्द्र र शहरी स्वास्थ्य उपचार केन्द्र रहेको र सोही केन्द्रबाट नै विद्यालयमा स्वास्थ्य सेवा दिने गरी व्यवस्था मिलाउने बताए ।

अन्य थप समस्याको समाधानको लागि बजेटको व्यवस्थापन भइसकेको र त्यसको समस्या केही महिनामा नै समाधान हुने नगर प्रमुख आचार्यले बताए ।

आचार्यका अनुसार विकासका योजना बनाउँदा भुईमान्छेका विचार, समस्या बुझ्नुपर्छ भने शैक्षिक हव बनाउन विद्यार्थीका समस्या बुझ्नुपर्छ ।

कोहलपुरका सामुदायिक हरेक विद्यालयहरुमा सिसिटिभि क्यामरा राख्ने र त्यसको निगरानी नगरपालिकाबाट हुने योजना अगाडि सारेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख संगिता सुवेदीले शैक्षिक हव बनाउन नगरपालिका एकजुट भएर लाग्न सबैलाई आग्रह गरिन् ।

बालबालिकाहरुले गुणस्तरीय र प्रभावकारी शिक्षा कसरी लिन सकिन्छ ? भन्ने विषयमा चासो दिनुपर्ने उपप्रमुख सुवेदीले बताएकी थिइन् ।

कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष देविलाल बोहराले बालबालिकाको समस्या समाधानको लागि हरेक क्षेत्रमा फाइल तयार पार्दै मन्त्रालयमा बुझाएको बताए ।

प्रयोगशाला, कम्प्यूटर ल्याब, खानेपानी, शौचालय बनाउने जस्ता महत्वपूर्र्ण योजनाहरु मन्त्रालयमा पेश गरिसकेका छौं तर विभिन्न योजना माग गर्दा विभिन्न राजनितिक दलकै दाउपेचका कारणले समस्याको समाधान गर्न नसकिरहेको उनले गुनासो गरे ।

यस्तै ज्ञानज्योति माविका शिक्षक विनोद भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बालबालिका, अभिभावक र विद्यार्थीहरुको सहभागि रहेको थियो ।

थप यो पनि पढ्नुहोस् ।

कोहलपुरका नगर प्रमुख आचार्यले कक्षा ६ मा अध्ययन गर्ने ६१ वर्षिया गिरीलाई गरे सम्मान