कोहलपुरलाई ‘हरित नगर बनाउने’ अभियान सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले हरित नगर बनाउने अभियानमा लागेको छ । कोहलपुर नगरपालिकाले हरित नगर बनाउने उद्देश्यले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउन सुरु गरेको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालल र नगर प्रहरी प्रमुख विर बहादुर थापाले हरित शहरका रुपमा चिनाउन आजबाट यो अभियान सुरु गरेका हुन् ।

कोहलपुरको हरित बनाउने योजना हामीले लिएर आएका छौं अब पुरा गर्ने र गराउने कोहलपुरबासीहरुको रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् । ‘लगाएका विरुवाहरुलाई संरक्षण गर्ने, विरुवालाई सिँचाई गर्ने र गोडमेल गर्ने काम गर्छौ,’ उनले भने, ‘त्यसको संरक्षण गर्ने, विरुवालाई सिँचाई गर्ने र गोडमेल गर्ने काम नगरबासीहरुको पनि उत्तिकै छ ।’ कोहलपुरलाई हरित शहरका रुपमा देशभर नै चिनाउन सबै कोहलपुर नगरबासीहरुको ठुलो भूमिका रहेको भन्दै आचार्यले सबैले आफ्नो घरको अगाडि एउटा मात्र विरुवा लगाउन आग्रह गरे ।

नगरपालिकाले नगरबासीलाई आफ्नो घर अगाडि छत्तीवन, करभिर, बेगनबेली, समि, कपुर, मिनि चमेली, गुलाचिन, बोटल ब्रस, टिकुमा लगायतका बिरुवा रोप्न आग्रह समेत गरेको छ ।

कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगिता सुवेदीले नगरलाई वातावरण मैत्री, सुन्दर र हरित बनाउन वृक्षरोपण गर्ने अत्यन्तै आवश्यक रहेको बताइन् । ‘विरुवाले जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरण गर्छ,’ ‘त्यसैले कोहलपुरका सबैले आ आफ्नो घरको अगाडि एउटा विरुवा लगाउनुहोस्’ उनले भनिन् ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले २ लाख ६ हजार ७ सय रुपैयामा १ हजार ६० वटा कोनोकार्पस ल्यान्सिफोलियस विरुवा ल्याइएको बताए । ‘यो हामीले २ फिटमा भनेको थियौं तर ४/५ फिटका आएका छन्,’ उनले भने, ‘हामीले प्रति विरुवा ७ सय भनेका थियौं तर घटीघटाउमा प्रति विरुवा १ सय ९५ रुपैयामा खरिद गर्‍र्यौ ।’

सोचेको भन्दा राम्रो विरुवा आएको छ, सो विरुवा कोहलपुरको टाउन प्लानिङ्ग, नगरका सरकारी कार्यालय परिसर र कोहलपुर नेपालगञ्ज सडक खण्डको विचको भागमा लगाउने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका कर्मचारी, नगर प्रहरी लगायत शाखाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुहाेस् ।

कोहलपुरले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने