तिनाउ नदीमा जल सतहले खतराको तह पार गर्‍यो, सतर्क रहन आग्रह

बुटवल ।

अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेका छन्।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ । तिनाउ लगायत रुपन्देहीका अन्य नदीहरूमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

जिल्लास्थित सुरक्षाका तीनै वटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले रातोपाटीलाई बताए।