मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत सामाग्री हस्तान्तरण

गम बहादुर डाँगी, खजुरा ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत बाँकेको खजुरा गाउँपालिकामा २५ वटा सामुदायिक विध्यालयहरुका बालविकासहरुमा आवश्यक पर्ने कुशन, राउण्ड, टेवल, कार्पेट, रयाग आदि सामाग्रीहरु हस्तान्तर गर्ने कार्यक्रम रहेको शुक्रबार ७ वटा विध्यालयमा हस्तान्तरण गरिएको छ । बाँकी रहेका विध्यालयमा आइतबार र सोमबार भित्र हस्तान्तरण गरिसकिने कार्यक्रम रहेको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी गराए ।

शुक्रबार जनता आदर्श माविमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँके जिल्ला समन्वयकर्ता भीम रावत, पालिका स्तरका छनौट समिति सदस्यहरु सालिकराम खड्का,मोमिना खातुन लगायतले विध्यालयका प्र.अ. राजेन्द्र सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । शुक्रबार आदर्श मावि, ज्ञानोदय मावि ,जनता मावि सन्तकुटी लगायत सात वटा विध्यालयहरुमा सामाग्री हस्तान्तरण गरिएको र एक दुइ दिन भित्र नै २५ वटै विध्यालयहरु हस्तान्तरण गरिसक्ने शिक्षा शाखाका प्रास निर्मल रेग्मीले जानकारी गराएका छन् ।

चालु खर्च तर्फको शैक्षिक गुणस्तर सुधार अन्तरगत बालविकास कक्षाको सवलिकरणका लागि करिब ९ लाख बजेट विनियोजन गरिएको र सोही बजेटबाट बालविकासका लागि आवश्यक पर्ने सामाग्रीहरु खरिद प्रक्रिया अनुसार नै खरिद गरी हस्तान्तरण गर्न लागेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी गराए ।

लुम्बिनी प्रदेश सरकारको विशेष अनुदान मार्फत गाउँपालिकालाई रु ६० लाख बजेट उपलब्ध भएको र सो बजेटको साठ्ठी प्रतिशत पूँजीगत तर्फ र चालिस प्रतिशत चालु तर्फका योजनाहरुमा खर्च गर्नु पर्ने कार्यविधिको प्रावधान अनुसार नै पालिका स्तरमा रहेको योजना छनौट सिफारिस तथा कार्यान्वयन समितिले योजनाहरु सिफारिस गर्नु पर्ने व्यवस्था रहेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँके जिल्लाका समन्वयकर्ता भीम रावतले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सबै स्थानीय तहहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको र बाँकेमा यो कार्यक्रमको समन्वय गर्न प्रदेश सरकारले भीम रावतलाई जिल्ला समन्वयकर्ताको रुपमा कार्य गर्न आब २०७८\७९ देखि नियुक्ती गरेको छ ।