शिवध्वज शाही, कोहलपुर भाद्र, २५
रसुवा जिल्लाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कोहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले ४ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

नेपाल सरकारले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरेको निर्णयअनुसार क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको तलबबाट ३ प्रतिशतदेखि १० प्रतिशतसम्म रकम कट्टी गरी उक्त रकम मध्यपश्चिम विश्वविद्यालयमार्फत नेपाल सरकारलाई सहयोग गरिएको हो।
क्याम्पस प्रमुख दानबहादुर हमालका अनुसार प्राध्यापक तथा कर्मचारीबाट संकलित ४ लाख ८ हजार रुपैयाँ विश्वविद्यालयमार्फत नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको छ। क्याम्पसका उपप्राध्यापक एकराज शर्माले विपद्को समयमा पीडित नागरिकलाई राहत पुर्याउने उद्देश्यले नेपाल सरकारको निर्णयअनुसार प्राध्यापक तथा कर्मचारीबाट रकम कट्टी गरी विश्वविद्यालयमार्फत सहयोग गरिएको बताए।
शर्माका अनुसार क्याम्पस प्रमुख हमालसँगको कुराकानीका क्रममा वागेश्वरी बहुमुखी क्याम्पसबाट ४ लाख ८ हजार रुपैयाँ सहयोग गरिएको जानकारी प्राप्त भएको हो। यसअघि मध्यपश्चिम विश्वविद्यालयले पनि नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा ५४ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गरेको जानकारी सार्वजनिक गरेको थियो।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यले सञ्चालन गरेको अभियानमा शैक्षिक संस्थाका प्राध्यापक तथा कर्मचारीले गरेको आर्थिक सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्