“ओमिक्राेन” काे नजरमा विद्यालय




सन् २०१९ को अन्त्य तिर आर्थीक क्रान्तिको रुपमा परिचित चिनको वुहान शहरबाट शुरु भएको कोभिड–१९ ले विश्वका धेरै जनताको अकालमा ज्यान लियो भने कैयौंलाई दिर्घ रोगी बनायो । त्यस्तै दोश्रो चरणमा देखिएको डेल्टा भेरिएण्टले झन धेरै मानविय क्षति व्यहोर्नुपर्यो भने कैयाैं मानिसहरु श्वासप्रश्वास सम्वन्धी रोगले पिरोलीरहेको छ । जति बाँचेर शारिरीक रुपमा स्वस्थ छन् तर आर्थिक र मानसिक रुपमा बिक्षिप्त छन् ।

कोरोना कै रुप भए पनि विश्वलाई नै त्रसित पार्ने गरी फैलिएको तेश्रो भेरिएन्ट ओमिक्रोनले पछिल्लो चरणमा फेरी आम जनमानसमा एक खालको त्रास पैदा गरेको छ । विश्वका बिभिन्न देशमा ओमिक्रोनको लक्षण देखिएपछि विस्तारै नेपालमा पनि यसको प्रभाव बढ्दै छ । करिव एक (१) महिना अगाडि देखि नै धेरै हल्लाहरु सामाजिक सञ्जाल मार्फत मिडियामा नआएका होईनन् तर पनि यो हल्ला चल्दै गर्दा छिमेकी देश भारतमा दिनहुँ जसो ओमिक्रोनको केस भेटिँदा हाम्रो केन्द्र सरकार, यसका अन्य संयन्त्रहरु र स्थानिय सरोकारवालाहरु कानमा तेल राखेर अनि आँखामा पट्टि बाँधेर बसे । जब गएको दुइ, तिन दिनमा यसको प्रभाव अधिक रुपमा फैलिन थाल्यो, अनि सरकारका पहरेदारहरुले केही नसोची बिद्यालयहरु बन्द गर्ने निर्णय गरे र सरकार साक्षी स्वरुप निर्णय स्वीकारेको घोषणा सहित प्रेस वक्तव्य जारी गर्यो ।

कुनै पनि कुराको निर्णय लिँदा उसको विगत, वर्तमान र भविष्यको अवस्थालाई हेरेर निर्णय लिनुपथ्र्यो तर अहिलेको यो निर्णयले कुनै अवस्थालाई सम्वोधन गरेको देखिदैन । कतिपय बिद्यालयमा परिक्षा चलिरहेको छ भने कति बिद्यालहरुमा परिक्षा चल्ने तयारीमा छन् । यि सबै कुराहरुलाई नबुझि गरेको बिद्यालय बन्दको निर्णयले सार्थकता पायो कि पाएन ? कुन बिद्यालय बन्द छ ? अधिकांश बिद्यालयका सवारी साधन चलेकै छन् । परिक्षा दिन विद्यार्थी गएकै छन् । खै त कुन विद्यालय पुर्ण रुपमा बन्द छन ? यसको अर्थ प्रष्ट रुपमा बुझ्न सकिन्छ कि, यो सरकारले गरेको अपरिपक्व निर्णयको परिणाम हो । यसर्थ यसबाट के बुझिन्छ भने यसरी कुनैपनि विषयमा ठोस निर्णय लिनु पुर्व सम्वन्धित क्षेत्रसंग सामुहिक वहस गर्न जरुरी हुन्छ ।

रह्यो कुरा विद्यालय बन्दको, गर्नुपर्ने नाका कुनै बन्द छैन । विभिन्न खालका जिम क्लवहरु, सिनेमा हलहरु, मलहरु, रेष्टुरेण्टहरु, पार्टी प्यालेशहरु, राजनितिक सभा सम्मेलनहरु र अन्य सबै संघ संस्थाहरुमा गज्जवको भिड लागेकै हुन्छ । बजारमा कुनै पनि व्यापारीले मास्क लगाएको भेटिदैन । बाटोमा हिड्ने मान्छेहरु बिना मास्क हिडिरहेका छन् र उक्त भिड कुनै मेलाभन्दा कम देखिदैन र सम्बन्धित निकायबाट सामान्य सोधपुछसम्म हुँदैन अनि निर्णय हुन्छ, विद्यालय बन्द !

विद्यालय बन्द गर्ने निर्णय गर्नु पुर्व विद्यालयको प्रकृति र त्यहाँको वस्तुस्थिति अध्ययन गर्नुपथ्र्यो । विद्यालय जाने जति बालबालिका छन् तिनका अभिभावक कोही जागिरे त कोही व्यापारी छन् भने जागिरे अभिभावका कार्यालय बन्द छैनन, व्यापारी अभिभावकका व्यापार बन्द छैन । अभिभावक दिनभर काममा गएर घरमा आउँदा बच्चा नजिक हुन्छ । यदि सो अभिभावक संक्रमण भएको रहेछ भने बच्चा कसरी सुरक्षित रहन सक्छ ? विद्यालय बन्द भएपछि वालवालिकाका लागि मोवाइल चलाउनका लागि टन्नै समय हुने भयो । बिहान उठेदेखि बेलुका नसुत्दासम्म मोवाइल हेर्नाले कुनै लागुऔषधभन्दा बढि मोबाइलको नशाले च्यापीसकेको हुन्छ बालबालिकाहरुलाइ, त्यही कारण उनिहरुमा बिस्तारै कल्पना गर्ने शक्ती र उ भित्रको सिर्जनशिलता नष्ट हुँदै गइरहेको छ । यसको जिम्मा कसले लिने ? त्यसैले बच्चामा परेको नकरात्मक प्रभावको बारेमा आज नसोचे कहिले सोच्ने ? अब यो हामीले सोच्नैपर्ने उत्तम समय हो कि ? होइन भने सबैले मनन गर्नुपर्ने बेला आएको छ ।

तिन तहमा सञ्चालन भएका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र मण्टेश्वरी विद्यालयहरुको छुट्टाछुट्टै स्थलगत अध्ययन नगरेका कारण अहिले गरेको बन्दको निर्णय यसको समस्याको समाधान हो जस्तो लाग्दैन । सामुदायिक र संस्थागत विद्यालयहरुमा विद्यार्थी संख्या बढि भएपनि सामाजिक दुरी सहित स्वास्थ्य मापदण्ड भित्र रहेर कक्षा सञ्चालन हुनुपर्छ । विद्यार्थीको संख्या बढिमा एउटा कक्षामा ४० जना हुन्छ तर त्यसैलाइ दुइ सिफ्ट गरेर पनि कक्षा सञ्चालन गर्न सकिन्छ । आफ्नो ज्यानको माया सबैलाइ हुन्छ त्यसलै पनि आफु आफै सुरक्षित रहने उपाए सबैले गरिरहेकै हुन्छ । विद्यालयको गेटमा नै ज्वरोको तापक्रम लिने, अक्सिजन लेभल र पल्स रेट मापन गर्ने तर यदि सामान्यभन्दा फरक पाइएमा बालबालिकालाइ तुरुन्त निगरानी सहित अभिभावकको जिम्मा लगाउने काम गर्नुपर्छ । जसको शारिरीक अवस्था सामान्य छ उसलाई विद्यालय भित्र प्रवेश गराउने हो भनेपनि धेरै सुरक्षित तवरले विद्यालय सञ्चालन गर्न सकिन्छ ।

मण्टेश्वरी विद्यालयहरुको हकमा केही मण्टेश्वरी विद्यालय बाहेक कतिपयमा बढिमा १०० विद्यार्थी संख्या हुन्छ । अझ बाँकेको सेरोफेरोमा हेर्ने हो भने विदयार्थी संख्या करिव ५० को हाराहारीमा हुन्छ । यसलाई दुइ सिफ्टमा चलाउने हो भने पनि प्रति सिफ्ट २५ जना विद्यार्थी हुन्छन् । २५ जनालाई पाँच वटा कक्षा कोठामा राखेर ५/५ जनालाई राखेर अध्यापन गराउन सकिन्छ । विद्यालय गेटबाट भित्र गइसकेपछि बाहिरको कोहीसंग पनि नजिक हुन पाउँदैन । अनि यस्तो अवस्थामा कसरी सर्छ रोग विद्यालयमा ? घरका सदस्यहरु र छिमेकीहरुको आवत–जावतले गर्दा अझ भन्ने हो भने असुरक्षित त घरमै छन् बालबालिकाहरु ।

बाल मृत्युदर लाई हेर्ने हो भने विगतका दुई थरिका भेरिएण्टलाइ सामना गर्दा कैयौं युवादेखि वृद्धसम्मका लाई यो रोगले ठुलो संख्यामा क्षति पुर्यायो तर बालबालिकालाई भने संक्रमण भएपनि कुनै पनि बालबालिकाले मृत्युवरण हुनुपरेन । यसको अर्थ बालबालिकामा अन्य उमेर समुह भन्दा रोग प्रतिराधात्मक क्षमता बढि हुन्छ भन्ने प्रष्ट हुन्छ । अब जुनसुकै भेरिएण्ट आएपनि रोग कसैलाई नलागोस्, लागेपनि सजिलै जित्न सकियोस् । हरेक नेपालीको तर्फबाट हाम्रो आस्थाको केन्द्रबिन्दु अदृष्य शक्त्तिसंग यही कामना छ ।

विगतमा विद्यालय बन्द हुदाँ विद्यार्थीहरुलाई परेको प्रत्यक्ष प्रभाव हामीले नजिकबाट नियालेका छौं । एकोहोरो मोवाइल हेरेका कारण दोहोरो सम्वाद नभएकाले बच्चा ३, ४ वर्षको भइसक्यो, बोली फुटेको छैन, घरमा अनावश्यक कुराको जिद्धिले गर्दा बालबालिकाको भविष्यप्रति अभिभावकहरु चिन्तित देखिन्छन् ।

माघ १५ गतेसम्म विद्यालय बन्द गरेपनि माघ १५ गतेपछि अन्य सबै क्षेत्र खुल्ने र विद्यालय मात्रै बन्द हुने हो भने आम जनताको लागि यो अवस्था कुनैपनि तरिकाले सह्य हुनेछैन । अवस्था बिग्रदै गयो भने सरकारले बन्दाबन्दी (लकडाउन) गरोस्, निषेधाज्ञा जारी गरोस्, हामी घरमा ताला लगाएर बस्न तयार छौं तर अपरिपक्व तरिकाले हचुवाको भरमा विद्यालय मात्र बन्द गर्न पाइदैंन । अन्यथा यसको जिम्मेवार सरकार मात्र हुनेछ । अन्त्यमा, तर्सथ यि जतिपनि गम्भिर कुराहरु माथि आए, कुनै विद्यालयको सञ्चालकको भन्दापनि मेरो व्यक्तिगत अन्तरआत्माबाट आएको भावहरु हुन तर यसले सबैको प्रतिनिधित्व गर्छ भन्ने लाग्छ । मेरो अनुभव एउटा अभिभावक, सञ्चालकको भुमिकामा यो लेख मार्फत पाठक वर्गमा पुर्याउने जमर्को गरेको छु । धन्यवाद ।

लेखक : लुना बुढाथोकी, अध्यक्ष, मण्टेश्वरी एशोसियसन बाँके

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार