१३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गर्दै जीवन ज्योति

कोहलपुर ।

कोहलपुर नगरपालिकामा जीवन ज्योति स्कुलले विगत १३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गरेको पाइएको छ । कोहलपुर नगरपालिका ७, ११ र १५ वडाका तीन स्थानमा जीवन ज्योति स्कुलले विगत १३ वर्षदेखि कानून विपरीत होल्डिङ्ग सेन्टर सञ्चालन गरिरहेको पाइएको हो ।

कोहलपुर टुडेको खोज अनुसार कोहलपुर नगरपालिका १५ अकलघरुवामा आफ्नै स्कुलका बस चालकको घरमा होल्डिङ्ग सेन्टर सञ्चालन रहेको भेटिएको छ भने अर्को ७ लखनवारमा रहेको गुठीको जग्गामा शिव मन्दिरको आडैमा र वडा नम्बर ११ को शान्तिनगर स्थित भवनमा सञ्चालन रहेको पाइएको हो ।

स्थानीयले समेत यी तिन होल्डिङ्ग सेन्टर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको बताएका छन् । ती तीन होल्डिङ्ग सेन्टरमा करिब ५० जनाभन्दा बढी बालबालिकाहरु छन् । होल्डिङ्ग सेन्टरमा १ वर्षदेखि २ वर्षसम्मका बच्चाहरु पढ्छन् ।

ती होल्डिङ्ग सेन्टरहरुलाई जीवन ज्योति स्कुलको शाखा भनेर जनतामा भ्रम सिर्जना गरेपनि सरोकारवाला निकाय भने मौन छन् । पहिलो स्थानिय चुनाव हुनुपूर्व नै सञ्चालन भएको यो होल्डिङ्ग सेन्टर जनप्रनितिधिहरुलाई जानकारी नै थियो तर उनीहरुले कारवाहीको कुनै पनि काम अगाडि बढाउन सकेनन् । तर अहिले कोहलपुर नगरपालिकाले होल्डिङ्ग सेन्टरको निगरानी गरेको जनाएको छ । नगर शिक्षाले बन्द गर्ने योजना सहित अगाढि बढेको छ ।

कोहलपुर नगरपालिकाले होल्डिङ्ग सेन्टर सञ्चालन गर्न अनुमति नदिएको नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले बताए । ‘किन र के कारणले सञ्चालन गरेको हो ? हामीलाई जानकारी छैन, त्यसको लागि हामीले ३ दिने अल्टिमेटम समेत दिएका छौंं,’ उनले भने । सो विषयमा नगरपालिकाले कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

सो विषयमा जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले भने, ‘ती होल्डिङ्ग सेन्टरहरु नगरपालिका वा समाजले बन्द गर भने बन्द गर्ने बताएका छन् । ‘समाजको सेवा गर्न आएको हुँ, तर यहाँको समाजले जा भन्छ भने म जान्छु । मैले कुनै नराम्रो गरेको छैन’ उनले भने ।

होल्डिङ्ग सेन्टरबाट बच्चाहरुका अभिभावकबाट कुनै पनि शुल्क नलिएको बताएका छन् तर मासिक एक सय रुपैया लिने गरेको कोहलपुर टुडेले फेला पारेको छ । होल्डिङ्ग सेन्टरमा राखेको बच्चालाई जीवन ज्योति स्कुलको नसर्रीमा भर्ना गर्ने गरिरहेका छन् । जीवन ज्योति स्कुल अन्तर्राष्ट्रिय चर्चको संस्थाहरुबाट सञ्चालित छ ।