बैतडीको पञ्चेश्वर गाउँपालिका उपाध्यक्षमाथि कुटपिट

बैतडी ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि मदिराको सूरमा एक व्यक्तिले कुटपिट गरेका छन् ।

सोही गाउँपालिकाको वडा नम्बर ३ का दीपकबहादुर चन्दले शुक्रबार दिउँसो मादक पदार्थ सेवन गरी कार्यकक्षमै आएर कुटपिट गरेको उपाध्यक्ष भट्टले बताएकी छन् ।

पालिकाको कुर्सीमा बसेर काम गरिरहेका बेला लछारपछार गरी फलामको प्लासले आफूलाई कुटपिट गरेको उपाध्यक्षले बताएकी छन् ।

ज्यान मार्ने धम्कीसमेत दिएको भन्दै भट्टले आवश्यक छानबिन गरी कारबाहीका लागि निवेदन दिएकी छन् ।

उपाध्यक्ष भट्टले दिपक चन्दले दिउँसै रक्सीले मातेर आफूमाथि दुर्व्यवहार गरेको बताइन् । ठेकेदारसँगको भुक्तानी दिलाउन माग गर्दै आएको व्यक्तिले उनलाई सघाउन खोज्दा उल्टै आफूमाथि हातपात गरेको उनले नेपाल प्रेसलाई बताइन् । उनले चन्दविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गराउन आफू गएको बताइन् ।

यसैबीच गाउँपालिका अध्यक्ष गोरखवहादुर चन्दले भने आफू घटनास्थलमा नभएको र आपसी विवाद भएको सुनेको बताए । उपाध्यक्षका पति र उक्त व्यक्तिबीच लेनदेनको विवादका कारण सो घटना भएको बताइएको छ । आपसी विवाद भएका कारण प्रहरी कारबाही नबढाएको चन्दले बताए ।