गणतन्त्रवादीहरु एकजुट हुनुपर्छः पूर्वमन्त्री गहतराज

नेपालगन्ज ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राखे ।

न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले देश र जनताको पक्षमा सधैं उभिरहने प्रतिबद्धता समेत जनाए । यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख दायित्व रहेको बताए ।

आईतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमा जिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

यस्तै उपाध्यक्षमा संगिन शर्मा, महिला उपाध्यक्षमा सीता वली, सचिव केपी घिमिरे, सहसचिवद्वय डिल्ली शाही, तिलक नेपाली र कोषाध्यक्षमा अनिता विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

आज गठित १७ सदस्यीय कार्यसमितिमा सन्तोष विष्ट, निरज सिंह, कल्पना शाही, खिमप्रकाश डिसी, ममता खड्का, अनिश साह, असरद अली रंगरेज, इन्द्र चौधरी, युसुब अन्सारी र कृष्ण उपाध्याय सदस्य चयन भएका छन् । बाँकी ४ जना सदस्य पछि थप गरिनेछ ।