डुडुवामा बालसुधार गृहमा तोडफोड र आगजनी

काेहलपुर ।

बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् । बाल सुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए । प्रहरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिएलगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

आज तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहको ३ वटा भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो । सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् ।

उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो । कानुनी विवादमा परेर सुधार गृहभित्र राखिएकाहरू दुई समूहमा विभाजन भएर भिडन्तमा उत्रँदै आएपछि एक समूहलाई काठमाडौं स्थानान्तरण गर्न थालिएको थियो । प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।