प्रचण्ड गठबन्धन छाडेर एमालेसंग सहकार्य हुने संकेत

काठमाडौं ।

नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ ।

प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग सम्वाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । ओलीले एमालेको तीन वटा चासो रहेको बताए ।

पहिलो, राजनीतिक स्थायित्व

दोस्रो, ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने

तेस्रो, राष्ट्रिय एकतालाई बलियो बनाउने

साँस्कृतिक विचलन देखिन थालेको भन्दै उनले बेलैमा नरोके मुलुक राजनीतिक अराजकतामा जानसक्ने बताएका छन् । यसका लागि पनि सबैसँग सम्वाद गर्नुपर्ने उनले बताए । सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने ओलीले बताए । एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले कांग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ ।

प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । तर प्रतिनिधिसभाकै ठूलो दल कांग्रेसले पनि नेतृत्व दाबी गरेको छ ।

एमालेमा कांग्रेससँग मिलेर सरकार बनाउनपर्ने मत पनि छ । तर बिहीबारको बैठकमा ओलीले भने गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने संकेत गरेको एक नेताले बताए ।