२० वर्षपछिको भिजन खोज्दै कोहलपुर

कोहलपुर ।

कोहलपुर नगरपालिकाले २० पछिको आर्थिक विकासका क्षेत्रमा भिजन खोज्न थालेको छ । कोहलपुर नगरपालिकाले विभिन्न क्षेत्रका सार्वजनिक, निजी र सहकारी क्षेत्रसंगको संवाद गर्दै २० वर्षपछि आर्थिक विकासको भिजन खोज्न थालेको हो ।

सार्वजनिक, निजी र सहकारी संवाद गर्दै कोहलपुर आर्थिक विकास परिदृष्टिको (भिजन) साँझा बुझाई भन्ने विषयमा वहस सुरु गर्न थालेको छ । यसले कोहलपुर नगरपालिकाको २० पछिको योजना र रणनीति र कार्यक्रमहरु ल्याउनका लागि छलफल र बहस सुरु गरेको सामाजिक विकास संयोजक ईश्वरी विश्वकर्माले बताए ।

बुधबार कोहलपुरमा सार्वजनिक, निजि, सहकारी संवाद र छलफल गरेको थियो । वि.स. २१०० को लागि कोहलपुर सहरको आर्थिक विकास दुरदृस्टी सम्बन्धी “समृद्ध कोहलपुर सुखी नगरवासी’ भन्ने शिर्षकमा विभिन्न सरोकारवाला निकाय विच छलफल भएको हो ।

कोहलपुरमा आर्थिक क्षेत्र बृद्धि गर्न कलकारखाना, साना, मझौला र ठुला उद्योग, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, बजारीकरण जस्ता अन्य विभिन्न विषयहरुमा छलफल भएको सामाजिक विकास संयोजक विश्वकर्माले बताए ।

यस्तै बहस तथा छलफल कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ एवं पुर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले कोहलपुरमा गुणस्तरीय शिक्षाका चारवटा आधारहरु आवश्यक रहेको बताए । विज्ञान, प्रविधि, व्यवसायी र आयआर्जन, ईमानदारीता र नैतिकता एवं स्वास्थ र शरीरलाई नितिमा ल्याउन सके परिकल्पना पूरा हुने तर्क पेश गरेका थिए ।

यस्तै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा पुर्व क्याम्पस प्रमुख तथा अर्थशास्त्र विषयका प्राध्यापक रमेशचन्द्र अधिकारीले निजि क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याउनुपर्ने बताएका थिए ।

यस्तै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एवं पाठ्यक्रम विषयका प्राध्यापक एकराज शर्माले ‘समृद्ध कोहलपुर सुखी नगरवासी’ नारा पुरा गर्न आम कोहलपुर वासिको आधारभुत आवश्यकता पूरा गर्ने ग्यारेन्टी गर्दै गुणस्तरीय एवं प्राविधिक शिक्षामा जोड दिने योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

शैक्षिक हव बनाउन भौतिक संरचना, विषयगत शिक्षक परिपुर्ति, एउटा कक्षामा ५० जना मात्र विद्यार्थी राख्नुपर्ने, शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने, हरेक विद्यालय निजि तथा सरकारी दुवै विद्यालयलाई फरक फरक धारको प्राविधिक तथा सामन्य विषयको अनुमति दिने जस्ता विषयहरु शर्माले पेस गरेका थिए ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले २० वर्षपछिको भविष्य बनाउँदा अहिले नगरपालिकाले निःशुल्क रुपमा दर्ता पक्रिया अघि बढाइएयो भने मात्र करको दायरामा ल्याउन सहज र सरल हुने बताए । नगरपालिकामा ठुलो होटल, उद्योग र कम्पनीहरु दर्ता गराएका छैनन त्यसकारणले समयमिति तोकी शिविर जस्तै गरी सञ्चालन गर्दा ठुला लगानी कर्तालाई भित्र्याउने सकिने योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै बहसमा बोल्दै डा.राजकुमार सुवेदीले फरक धारण प्रस्तुत व्यक्त गरेका थिए । उनले कोहलपुर नगरपालिकाले एउटा बलियो निति भनेको एउटा मात्र छ, त्यो हो ‘सरकारी जागिरेका छोराछोरी सरकारी विद्यालयमा पढाउने’ नीति लागू गर्न सकियो भने प्रभावकारी हुने तर्क पेश गरेका थिए ।

यस्तै त्रिभुवन नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ऋषि शर्माले सरकारले सुशासनलाई जोड दिदै शिक्षाको पहुँच सबै नागरिकलाई प्रदान गरी सुनौलो भविष्य निर्माण गर्नका लागि काम गर्नु पर्नेमा जोड दिए ।

यस्तै अन्जना पान्डेले समावेशीता र समानतालाई नितिमा ल्याई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कोहलपुरमा अहिले पनि जातीय भेदभाव तथा छुवाछूत अझै रहेकोले त्यसको अन्त्यगरी नितिगत आधार तयार गर्न जोड दिए ।

स्थानीय विज्ञ समुहका सदस्य जयश्वर पौडेलले नितिगत सुशासन, नेतृत्वको ध्यान कृषिमा जोड र जमिनको खण्डिकरण नगरी चक्ला बन्दीगरी स्वरोजगारी बनाउन सके भोलिको कोहलपुरको परिकल्पना गर्न सकिने बताए । सहभागी शंकर न्यौपानेले स्वास्थ क्षेत्रमा विशेष ध्यान दिएर निशुल्क बनाउनु पर्ने र शिक्षकलाई राजनीतिक गन्धबाट टाढा राख्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मुवारक अलि गुजर, कार्यपालिका सदस्यहरु लगायत विभिन्न सरकारी गैरसरकारी संघ संस्थाका व्यक्तिहरु, नेपाल सुनचाँदी व्यवसाय संघ, साना तथा घरेलु महासंघ कोहलपुर, साहित्यकार समाजसेवी बुद्धिजिवि पत्रकारहरुको उपस्थित रहेको थियो ।