बाँके चिनाउने तेक्वान्दो खेल

नेपालमा आधिकारीक रुपमा तेक्वान्दो खेल २०४० देखि सुरुवात भएपनि सुरुमा नेपाल आर्मीलाई मात्र तालिम दिइन्थ्यो । कोरिया देशबाट तेक्वान्दो खेलको शुरुवात भएको थियो । जुन आज संसारभरी लोकप्रिय खेलको रुपमा परिचित छ । नेपालबाट ओलम्पिक प्रतियोगितामा पदक जिताउन सफल खेलको रूपमा परिचित छ तेक्वान्दो खेल । तेक्वान्दो खेललाई केही परिमार्जन गरी आधिकारीक रुपमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता २०४६ सालमा भयो ।

दर्ता पक्रियापछि सिनियर गुरु दिपराज गुरुङले निकै कडा संघर्ष र मिहिनेत गरी तेक्वान्दो खेललाई स्थापित गराउन सफल भए । गुरुङले आफ्नो खेलको निरंतरता र विदेशी तथा स्वदेशीका विभिन्न संघ संस्था र निकायको सहयोग बिना नै विभिन्न समस्याका बावजुद् ७७ जिल्लामा तेक्वान्दो खेललाई चिनाउन र सिकाउन सफल भए । बाँके जिल्लामा पनि तेक्वान्दो खेलको शुरूवात स्व.गुरु नस्थु बिसुराल्ज्युको उपस्थितिमा २०४७ सुरुवात भएकोे थियो ।

जिल्ला भित्र रहेको खेलाडीको प्रतिभालाई निखारता दिदै श्रीमान थापा मगर (हाल रा.खे.प. बोर्ड सदस्य) दिल बहादुर ओली हाल (नेपाल तेक्वान्दो संघ केन्द्रिय उपाध्यक्ष) महेश थापा (पुर्व लुम्बिनी प्रदेश तेक्वान्दो संघ सदस्य) नेत्रबहादुर थापा मगर हाल (रा.खे.प.सा.प्र.), राजेन्द्र आले (रा.खे.प.सा.प्र.) बिमला भण्डारी (रा.खे.प.सा.प्र.) उत्तम रिमाल
(रा.खे.प.सा.प्र.) मानबहादुर लामिछाने, (रा.खे.प.सा.प्र.) भुपेन्द्र पुन मगर (रा.खे.प.सा.प्र.) बलजित रोकामगर, रामचन्द्र चौधरी, पुस्बराज कंडेल, मोहन ओली, जङ्गबिर चौधरी, श्याम भट्टराई, चन्द्रबहादुर श्रेष्ठ हाल (कोहलपुर न.पा.खेलकुद साखा सदस्य) सिद्ध बहादुर चन्द, देबेन्द्र आचार्य हाल (डा.ल्न्ःऋ कोहलपुर) लगायतका जिम्मेवार पदमा बाँके जिल्लाका खेलाडी पुगिसकेको अवगतै छ ।

तेक्वान्दो खेललाई संस्थागत गर्ने क्रममा २०६० सालमा बाँके जिल्लाको नेतृत्व श्रीमान थापामगरले समाल्दै १४ बर्षसम्म उनले अभिछिन्न रुपमा नेतृत्व दिदै अगाडी बढदै खेलाडी उत्पादन गर्दै गर्दा बाँके जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउदै आएको छ ।

खेलमा परिवर्तन हुने क्रममा कोरियामा विशेष तालिम गरी तेक्वान्दो खेलको बिज्ञको रुपमा २०७४ सालमा नेत्रबहादुर थापामगरले नेतृत्व समाल्नुभयो । आफ्नो व्यक्तिगत काम र घरायसी समस्याको कारण पदावधि नसकिदै पदबाट राजीनामा दिए पश्चात मोहन ओलि ज्यु ले ११ महिना कार्यवाहक अध्यक्षको रूपमा नेतृत्व गर्नुभयो । (कोभिड—१९) को समयमा तेक्वान्दो संघ बाँकेले खेलाडी भाइबहिनीहरुलाई राहत वितरण गरी सानो सहयोग गरेको थियो । खेलाडी हरुको प्रतिभालाई निखारपन दिदै तेस्रो बृहत जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना भएको थियो ।

यसैविच २०७८ बाट प्रकाश लामिछानेको जिल्लाको नेतृत्व समाल्ने मौका पाए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराको साथ प्रथम जुनियर पुम्से प्रतियोगिता गरियो भने केही समयपछि क्रमशः खुल्ला जिल्ला स्तरीय चौथो जुनियर प्रतियोगिता भएको भयो । सो प्रतियोगितामा पुम्सेतर्फ युबराज रानाले प्रथम, महिलातर्फ निलिमा मल्ल र अस्मिता चन्द प्रथम भएका थिए ।

यस्तै २०७८ मा रास्ट्रपति प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्दै दिपसिखा रानाभाटले दोस्रो स्थान प्राप्त गर्न सफल भएकी थिइन् । यस खेलबाट ९औ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुँदै ११ जना खेलाडी सहभागी भएका थिए । जसमा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै युबराज राना दोस्रो, निलिमा मल्ल र रितिका शाहीले तेस्रो स्थान हासिल गरी देशभरी चिनाउन सफल भए ।
खेलाडिलाई राज्यले नारामा मात्र नराखी उचित विकास गर्नका लागि राजनीतक नेतृत्वले विचार पुर्‍याउने र खेलाडी र खेलक्षेत्रको विकास सम्बर्द्धनका लागि खेलकुदलाई बुझ्न सक्ने व्यक्तिलाई अगाडि सारेमा राम्रो हुनेछ । नेताले खेलकुदलाई नबुझ्दा दिन रात मेहेनत गर्ने खेलाडीपछि पर्नु परेको तीतो यथार्थ हामी सामू जगजाहेर छ ।
बाँके जिल्लाबाट खेलकुद मन्त्री हुँदा समेत खेलाडीले खेल मैदान, खेल सामाग्री, प्रशिक्षणको अभाव भोग्नु परेको छ ।

आफ्नो जिल्लाको जनप्रतिनिधि मन्त्री हुँदा पनि विभिन्न अभावका बीच जिल्ला छनौट प्रतियोगिता आफ्नै खर्चमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेले सम्पन्न गरी खेलाडी तयार गराई लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेको हुदा हुँदै पनि ९औं राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सकिएन ।
अबको तयारी खेलाडी उत्पादनका साथसाथै, अनुशासित, आत्मरक्षाकाको लागि निपूर्ण, निरोगी, देशलाई स्वस्थ युवा जनशक्ति दिने हिसाबले नेपाल तेक्वान्दो संघ बाँके जिल्ला कार्य समिति अगाडि बढिरहेको छ ।

तेक्वान्दो खेल हात र खुट्टाको कला हो । अहिलेको समयमा साना नानी बाबुलाई टिभि मोबाइलको लतबाट छुटाउन, मोटोपन घटाउन, अभिभावकसंग रिसाउने झर्किने र अल्छि जस्ता समस्याबाट आफ्ना नानिबाबु बचाउन र स्वस्थ राख्न तेक्वान्दो खेलमा सहभागी हुने संख्या दिनानुदिन बढिरहेको छ ।

खेलमा निरन्तर अभ्यास र क्रियाकलापले गर्दा फूर्तिलो जीउ, मिहिनेती र लगनशील व्यक्तित्व र समाजमा स्वस्थ युवाको उदय हुन्छ । साथ महिलाहरुलाई आत्मरक्षा कसरी गर्ने आफुलाइ सेल्फ डिफेन्स गरी आफ्नो रक्षा गर्ने, खेलको माध्यमबाट आफ्नो सहभागीता देखाउन कोरिया समेत गएर आएका महिला खेलाडी निलिमा मल्ल र रितिका शाहीले जिल्लाको नाम परिचित गराएको हामी अहिले पाउन सक्छौ ।

खेल र खेलाडीको संरक्षकत्व राज्यको स्थानीय तहबाट हुन अत्यन्त जरुरी छ । तर बाँकेमा रहेका ८ स्थानीय तहमा खेलाडिको लागि बजेटको व्यवस्थापन गरी तालिमहरु समेत दिन सकेको छैन । प्रत्येक पालिकाहरुमा खेलकुदको लागि भनी बजेट हुन्छ तर तेक्वान्दोको लागि भने बजेटको व्यवस्थापन नहुँदा खेलाडिहरु समस्या छन् । यसतर्फ पालिकाहरुले खेल क्षेत्रलाई बुझ्न सक्ने नेतृत्व स्थानीय तहदेखि संघीय मन्त्रालयसम्म हुन जरुरी छ ।

सधै उपेक्षामा परेको खेल जगतलाई माथि उठाउन नीति निर्माण तहमा खेल बुझ्ने व्यक्ति वा खेलाडीको स्वयं उपस्थिति हुन जरुरी रहेको छ।खेलका माध्यामबाट अन्तर्राष्ट्रिय सदभावकायम गर्न सहयोग समर्थन जुटाउन सकिने भएकोले यस क्षेत्रमा प्रचुर सम्भावना रहेको हुदाँहुदै पनि सरकार रहने मुठ्ठी भर शासकहरुले गरेको उपेक्षाको शिकारबाट खेल क्षेत्रलाई मुक्त गरि यसको उचित विकास र प्रबर्द्धन गर्न नीतिगत सुधार गर्न हस्तक्षेपकारी भूमिका, खेल्न सक्ने नेतृत्वको खाचो छ । खेल र खेलाडीको मनोभावना बुझी कामकारबाही अगाडि बढाउन सकोस् र यस क्षेत्रको आमूल परिवर्तन होस् ।

जय खेलकुद
तेक्वान्दो संघ बाँके
अध्यक्ष