सहकारीको एक परिचय र चुनौती

सामान्यतया दुई वटा फरक—फरक शब्द मिलेर ‘सरकारी’ भन्ने शब्दको निर्माण भएको छ, जसको अर्थ हुन्छ, सँगसँगै काम गर्नु, वास्तवमा मानव सभ्यताको सुरुवातसँगै मानव जातिमा सहकारीको विचार र मर्म पलाएको र स्थान पाएको देख्न सकिन्छ । मानव जातिको उत्पति पश्चात समयअनुसार चेतनशील हुँदै गएपछि सामूहिक कार्यमा सफलता प्राप्ति हुन्छ । सामूहिक श्रमबाट प्राप्त फललाई बाँडेर खानुपर्छ भन्ने भावनाको विकास हुनु पनि एक सहकारी अन्तर्गतको महत्वपूर्ण मर्म हो ।

त्यही मर्म र भावनालाई विकसित तरिकाले अगाडी बढाउँदै मानिसमा जब–जब चेतना, विवेक र शिक्षाको निरन्तर विकास भयो । सोही विकास क्रमसँगसँगै सामाजिक सद्भाव, आपसी सहयोग, जीविकोपार्जनको वैज्ञानिक तरिकाको सिकाई श्रमको विभाजन र विकासको पनि गति बढ्दै जाँदा अठारौं शताब्दीमा पूर्णरूपमा परिभाषित सहकारीको इतिहासको जग बसेको देखिन्छ ।

बेलायतको रचडेल भन्ने ठाउँबाट त्यसको सामान्यतया विधिवत क्रान्तिको विजारोपण भयो । बेलायतको औद्योगिक क्रान्तिसँगै मालिक र मजदुर संगको विभेद, श्रमको सम्मान मजदुर प्राकृतिक मेसिन (मजदुर) को श्रमशोषण आदि विषय नै आजका सहकारी विकासका सकरात्मक कारक मानिन्छन् । तत्कालीन समयमा रचडेल निवासी हरुले सामूहिक ढङ्गले पाउरोटी कम्पनीको विस्तार गरेको इतिहासले सहकारीको जग विश्वमा नै बसालेको देखिन्छ । यद्यपि सहकारीको अवधारणाको आधुनिक विकास गराउने व्यक्ति रोबर्ट ओवेन थिए, जसलाई सहकारीका पिता भनिन्छ ।

सहकारी एक सामुदायिक र सामाजिक व्यवसाय हो । समुदायका व्यक्तिहरु मिलेर आफ्ना साझा आवश्यकताहरू पूरा गर्न सहकारी पद्धतिमा आधारित व्यवसायको स्थापना गरिएको हुन्छ । सहकारीका अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९९५ मा पारित गरेको विश्वव्यापी सिद्धान्तअनुसार आवद्ध सदस्यका आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पूरा गर्न सहकारी स्थापना गरिएको हुन्छ ।
अहिले विश्वमा करिब एक अरब मानिसहरु सहकारी व्यवसायमा आवद्ध छन् । भने दश करोेड मानिसहरूले सहकारी अन्तर्गतका कार्यहरुमा रोजगारी प्राप्त गरेका छन् ।

गरिबी निवारण सामाजिक एकिकरण र पूर्ण उत्पादन रोजगारी सृजनामा सहकारी पद्धतिको व्यवसायको विकल्प देखिएको छैन । विश्वमा सहकारीको सुरुवाती चरणदेखि व्यवसायमा सहकारी पद्धतिको सफल प्रयोग हुँदै आएको छ ।
विभिन्न किसिमका व्यवसायहरु मध्ये सहकारी आफैंमा एक किसिमको सामूहिक र सफल व्यवसाय हो । यसको सञ्चालन विधि अन्य निजी व्यवसायभन्दा भिन्न तरिकाको हुन्छ ।

सहकारी व्यवसायमा सञ्चालनले नैतिक र सामाजिक पक्षमा जोड दिन्छ । यसको आफ्नै सिद्धान्त हुने हुँदा व्यवसाय सञ्चालन गर्दा सिद्धान्तलाई पालना गर्नुपर्ने हुन्छ । जसरी बेलायतबाट सन् १८४४ देखि विधिवत रुपमा सहकारी स्थापना र सञ्चालन हुने क्रम युरोपदेखि अन्य एसियाली देशहरुमा फैलियो ।

त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । विश्वव्यापी रुपमा अन्तराष्ट्रिय सहकारी महासंघ सन् १९९५ मा सर्व मान्ने रूपमा प्रतिपादित गरेका सिद्धान्तलाई आत्मसात गर्दै सोही सिद्धान्त अनुरुप वि.सं. २०१० मा नेपालमा सहकारी विभागको स्थापना भयो ।

तत्पश्चात वि. सं. २०१३ मा चितवनमा पहिलो सहकारीका रूपमा बखान क्रण सहकारी दर्ता भै सेवा सुचारु भएको नेपालको इतिहासमा छ । वि.स. २०१३ मा नेपालमा सहकारीको विजारोपण भएसँगै नेपालमा विभिन्न समयमा विभिन् ऐन र नियमावली बन्दै गरेपनि सहकारी ऐन, २०४८ र सहकारी नियमावली २०४९ सहकारी दर्ता र संचालनका लागि एक उदार ऐन बन्यो जसका कारण सामूहिक आवद्धता पेसागत एवं भूगोल र दक्षता तथा सिपका आधार लगायत अन्य पर्यटन, स्वास्थ्य, जडिबुटी उद्योग, शिक्षा र खानेपानी उपभोक्ता जस्ता थुप्रै उद्देश्य सहितका सहकारीहरु दर्ता भई सञ्चालनमा आएको देखिन्छ ।

सहकारीका विश्वव्यापी सिद्धान्त आधारभुत नैतिक मूल्य एवं मान्यतालाई अनुसरण गर्दै विभिन्न प्रकृतिका सहकारी संस्थाहरु स्थापना भई सञ्चालन भए तर सहकारीका आम सदस्यहरुले यसको मूल मर्म बुझ्न सकेको देखिँदैन ।
सहकारी आम सदस्यहरूको बुझाइमा एक बचत गर्ने अनि ऋण प्रयोग गर्ने माध्यम मात्रै हो भन्ने भ्रम पर्न गयो । उचित तरिकाले सदस्यहरुलाई सहकारीका कार्य एवं उद्देश्यका बारेमा जानकारी प्रदान गर्न नसक्दा सहकारी प्रतिको धारणा स्पष्ट हुन सकेन जसका कारण सहकारी संस्था उद्देश्यबाट विमुख भई पृथक तरिकाबाट सहकारी सञ्चालन हुन थाले । संस्थाले सरकारीको स्वीकृत विनियमको परिधिभित्र रही कार्य संचालन र व्यवसाय सञ्चालन गर्नुपर्नेमा बचत र ऋणलाई मात्रै प्राथमिकता दिने र घरजग्गा प्रतिको कारोबार पूँजी परिचालित नहुने व्यवसायलाई बढी प्रोत्साहन दिने गरेको देखियो ।

नेपाल सरकार एवं नियम निकायले सहकारीलाई नियन्त्रण गर्न खासै उपयुक्त प्रविधि विस्तार नसकेकोले यस्तो विकृति झन् मौलाउँदै गएको देखिन्छ । फलस्वरूप संस्थामा तरलता अभाव संस्थाको भविष्य अस्पष्ट एवं गन्तव्यहीन हुन पुगेको केही सहकारीमा देखिन्छ । सहकारीले आफ्नो स्वीकृत विनियमको परिधिभित्र रही आवश्यक र स्पष्ट कार्यविधि निर्माण गरी सदस्यमुखी र समय सापेक्ष सम्भावना अध्ययन गरी दुरगामी व्यवसायिक योजनासहित सहकारी सञ्चालन गर्न यस परिस्थितिमा आवश्यक देखिन्छ ।

बढ्दो विलासिलता र बढ्दो बेरोजगारी र महंगीले देशको अर्थतन्त्र खोक्रो भइसकेको अवस्थामा देश अधिकांश वस्तुहरुमा आयातमुखी बनेको छ जसले गर्दा देशको श्रम र पूँजी दुबै विदेशतिर खेर गइरहेको छ । यस्तै अवस्था चलिरहेमा निकट भविष्यमै देशको अर्र्थतन्त्र झन् विकराल अवस्थामा आउने सम्भावना बढ्दो छ । यसलाई निरुत्साहित गर्नका लागि सहकारी संस्थाले आफ्नो उद्देश्य अनुरुप कार्य गर्न र उत्पादनमुखी सहकारी बनाउन आवश्यक रहेको देखिन्छ । सहकारी देशको अर्थतन्त्रको तेस्रो खम्बाका रुपमा स्वीकृत भइसकेको अवस्थामा सहकारीले प्रशस्त रोजगारीको अवस्था सृजना गरेपनि दुरगामी विकासको लागि यतिमात्रै प्रर्याप्त छैन ।

दिगो विकासलाई सम्भव तुल्याउनका लागि सहकारी संस्थालाई राज्य स्तरबाट प्रभावकारी नियन्त्रण सकरात्मक प्रेरणा र उत्पादनशील हुनाका लागि प्राविधिक सहयोग र सबलीकरणको आवश्यकता देखिन्छ ।
जबसम्म देशमा सहकारीमार्फत उत्पादन वृद्धि गरी खाद्य एवं अनिवार्य आवश्यक वस्तुमा आत्मनिर्भर हुन सक्दैनन् तबसम्म देश आयातमुखी र परनिर्भर भई राष्ट्रको ठूलो धनराशि र युवा पंक्ति बिदेशी रहने बाध्यताले देशमा गरिवी र आर्थिक संकट पर्ने अवस्थाको जोखिम बढी रहने देखिन्छ ।

                                                                                                                                                           

प्रवन्धक

जनविश्वास बहुमुखी सहकारी संस्था लि.,
कोहलपुर –२ बाँके