विमा कम्पनी र यसको आवश्यकता

विमा भन्ने वित्तिकै हामी जोखिम न्यूनिकरण गर्ने भन्ने बुझिन्छ । वास्तवमा ‘विमा’ भन्ने शब्द धेरै बर्ष पहिला देखि इशा पूर्व ४५०० तिर नेवोलियाको ‘रोम वा ग्रीक’ बाट सुरु भएको मान्यता छ । विभिन्न विद्धानहरुको भनाई अनुसार विमा धेरै वर्ष पहिलेदेखि प्रचलनमा आएको पाइन्छ । विश्वका विभिन्न शहरहरुमा विभिन्न माध्यमबाट विमा सुरु भई जोखिम हस्तान्तरण गरी भुक्तानी गरेको देखिन्छ । सामान्य भाषामा विमा भनेको भविष्यको जोखिमलाई न्यूनिकरण गर्ने माध्यम हो । मानव जीवनमा अनेकन किसिमका विपत्ति वा जोखिमका सम्भावनाहरु हुन्छन् ति विपत्ति वा जोखिमहरुलाई हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यमको रुपमा विमालाई लिन सकिन्छ ।

विमालाई व्यक्तिगत जोखिम, पारिवारिक दायित्वसंग सम्बन्धित जोखिम साथै व्यवसायिक दायित्व वा लगानिसंग सम्बन्धित जोखिमको बिषयको रुपमा लिईन्छ । विमा ऐन २०४९ बमोजिम “कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयको आधारमा किस्ताबन्दी रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुल खास रकम पाउने गरि गरिने करार सम्बन्धी व्यवशाय सम्झनुपर्दछ ।” भनेर व्याख्या गरेको छ । तर नेपालमा भने विमाको स्थापना २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा “मालचलानि तथा विमा कम्पनी लिमिटेड” को स्थापना भएको थियो । त्यसपछि विभिन्न माध्यमबाट नेपालमा विमा कम्पनीहरु स्थापना भएको पाइन्छ ।

नेपालमा पनि विमा कम्पनिहरु धेरै छन् तर आम जनमासमा विमा भनेको के हो ? भन्ने कुरा अझ पनि नबुझेको पाइन्छ । नेपालको खुल्ला सिमानाको कारण अवैधानिक रुपमा नेपालमा पसेका विभिन्न प्रकारका नेटवर्क मार्केटिङ कम्पनिहरुले ठगी गरी व्यापार गरेकै कारण मानिसहरु नबुझेर विमाको बारेमा पनि सुन्न चाहदैनन् । त्यसैले अब विमाको बारेमा पनि बुझन जरुरी छ । किनकी अहिलेको समय २१औं शताब्दीको सूचना प्रविधि सहितको वैज्ञानिक युग हो । हामी समय अनुसार अगाडी बढ्नु पर्छ । मौसम अनुसारको कपडा लगाउनुपर्छ । हिजोको समयभन्दा आजको समय धेरै फरक छ ।

आजको समयभन्दा भोलिको समय अझ धेरै फरक हुनेछ । आज धेरै मानिसहरु विभिन्न प्रविधि र साधनहरुको माध्यमबाट काम गर्ने गदर्छन् । बनिबनावट रङ्गीविरंङ्गी खाने कुराको प्रयोग गर्दछन । जताततै क्यामिकलको प्रयोग गरीरहेका छन् । आजको समयमा क्यामिकल नभएको धेरै जसो खानेकुरा नै पाइदैन । क्यामिकलले धेरै माटो क्यामिकल भइसकेको छ । पानी पनि क्यामिकल भइसकेको छ । क्यामिकलकै कारण मानिसहरुलाई विभिन्न प्रकारका रोगहरु लागेर औषधिको भरमा मात्र बाचेका मानिसहरु धेरै छन । औषधि खादा खादा मानिसको शरीर पनि क्यामिकल भइसकेको छ ।

मानिसहरु जन्मिने वित्तीकै जन्डिस देखिन्छ । जन्मेदेखि नै सुई लगाउनुपर्ने हुन्छ । देशमा काम गरी खाने कुनै प्रकारको वातावरण छैन । आर्थिक रुपमा विपन्न भएकै कारण मानिसहरु विरामी हुँदा औषधी उपचार गर्न नसकेर प्राण त्याग गरेको धेरै घटनाहरु सर्ववित्तितै छ । त्यसैले भविश्यमा आउन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न सबैका लागि विमा अति आवश्यक छ ।

नेपालमा विमा कम्पनीहरु विमा ऐन—२०४९ अनुसार नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृतिमा विमा समितिको निर्देशनमा विमा कम्पनीहरु स्थापना भई सञ्चालन भएका छन् । विमा कम्पनीको छाता संगठनको रुपमा रहेको विमा समितिले नियमअनुसार तोकिएको धरौटी राख्न लगाई विभिन्न नियममा रही विमा व्यावसाय सञ्चालन गर्न निर्देशन दिएको छ । अहिलेसम्म नेपालमा विमा कम्पनीहरु ३ प्रकारका छन् । जसमा,

१) जिवन विमा कम्पनी लि.
२) निर्जिवन विमा कम्पनी लि.
३) पूर्नविमा कम्पनी लि.
जीवन विमा कम्पनी ,

जीवन विमाको कुरा गर्दा जीवन विमालाई जोखिम हस्तान्तरण गर्ने प्रक्रिया, आर्थिक तथा पारिवारिक सुरक्षा गर्ने प्रविधि, बचत गर्ने सर्वोत्तम उपाय, बुढेसकालको लागि सहारा, एकमुष्ठ रकम निर्माण गर्ने आधार, बालबच्चाहरुको भविष्यको लागि गरिने सर्वोत्कृष्ठ कार्य, सामाजिक सुरक्षामूखी व्यवशाय, ऋण भारबाट मुक्ति पाउने उपाय तथा करयोग्य आयमा समायोजन गर्नका निम्ति लिने गरिन्छ ।

जीवन विमा किन गर्ने ?, के का लागि गर्ने ?, कस्का लागि गर्ने ? यस्ता थुप्रै प्रश्नहरु छन् जसले जीवन विमाको महत्व र आवश्यकता महशुस गराउँछ । हामी सबैलाई थाहा छ, हामी एक दिन यो संसार छोडेर जान्छौ तर कहिले र कसरी त्यो हामीलाई थाहा छैन । भोलिको दिनमा बुढाबुढी हुन्छौ, बुढेसकालमा दुःख पाइन्छ वा सुख के थाहा ? बाँचुञ्जेल हाम्रा बुवा आमा तथा बाल बच्चाहरुको हेरचाह गर्छौ तर हामी नभए कसले हेरचाह गर्छ ? हामीले हाम्रा सन्तानहरुको भविष्य राम्रो बनाउन मन लाग्दैन र ? आम्दानीको स्रोत बन्द भएमा के गर्ने ? दुर्घटनाबाट अंगभंग भएमा आफ्नो र परिवारको रेखदेख कसले गर्ने र वृद्ध अवस्थामा आवश्यक खर्चको जोहो कसरी गर्ने ? के यि तमाम प्रश्नहरुको जवाफ उत्तम विकल्प भनेको विमा हो ।

साधारण तरिकाले हेर्दा विमालाई बचत र सुरक्षाको दृष्टिकोणले हेर्ने गरिन्छ । अधिकांश नेपालीहरु आज जे छ त्यसैमा रमाउने गर्दछन् तर बचत गर्ने बानी छैन । आजभोलि मानिसका आधारभुत आवश्यकताभन्दा पनि विलासी आवश्यकता बढ्न थालेका छन् । विलासि आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको पाईन्छ ।

यदी आजको दिनमा बचतको सुरुवात गरिएन भने भोलि मेरो सन्तानलाई उच्च शिक्षा, विवाह, परिवारमा आउने स्वास्थ्य समस्याका निम्ति अति आवश्यक छ यति मात्र होइन, यसले मृत्यू स्विकार्ने नै किन नहोस तर क्रियाकलापमा समेत आवश्यक पूर्ति गर्छ । यि महत्वूर्ण काम जसरी नै पूर्ति पर्नुपर्ने छ तर ऋण खोज्नु बाहेक अर्को विकल्प नै हुँदैन त्यो समयमा ऋण लिने परिवारको गरिवीको दुश्चक्र फस्न सुरु गर्छ । अहिलेसम्म सफल भएका व्यक्तिहरु न बचत गरेर नै सफल भएका छन् । अनावश्यक फर्जूल खर्च गर्ने व्यक्ति नै समस्यामा पर्ने गरेका हुन्छ । जीवन विमालाई बाध्यकारी बचत गर्नुपर्ने माध्ययमको रुपमा पनि लिन सकिन्छ । यसमा बैंकबाट जस्तो सजिलो तरिकाले रकम निकाल्ल र प्रयोग गर्न सकिदैन । यसमा कम्तिमा तिन वर्ष अगाडि ऋण वा विमा नै सर्मपण गरेर निकाल्न सकिदैन । यस्तो खालको बाध्यकारी व्यवस्थाको कारणले पनि विमितको रकम निश्चित समयसम्मको लागि बचत हुने देखिन्छ ।

वास्तवमा कुनैपनि व्यक्ति एक्लै जिउन पर्ने हो भने हामिले आजको दिनमा गरेको संघर्ष जरुरी थिएन तर हाम्रो पछाडी आफ्नो मात्र नभई परिवार प्रतिको दायित्व पनि जोडिएको छ । हामी रहँदासम्म हाम्रो परिवारमा पर्ने आर्थिक समस्याको व्यवस्थापन गर्छ । तर भोलिको दिनमा हामी रहेनौ भने त्यो दायित्व कसले लिने ?, त्यसका लागि हाम्रो अनुपस्थितिमा पर्न सक्ने आर्थिक समस्याको व्यवस्थापन जीवन विमाले गर्ने गर्दछ । कामको शिलशिलामा केही दिनको लागि घर छोडेर बाहिर जाँदा त परिवारलाई कुनै समस्या पर्ला भनेर आर्थिक व्यवस्थापन गर्छौ भने घर फर्केरै नआउने सम्भावना पनि छ त्यसैले पनि त्यस्तो अवस्थाको आँकलन गरेर जीवन विमा गराउन जरुरी छ ।

म मेरो परिवारलाई निकै माया गर्छु तर त्यो माया म रहुन्जेलको लागि मात्र सिमित हुनुभएन, माया त्यो हो कुनै कारण वस म रहेन भने पनि मेरो परिवारको आँखामा आशु आउन भएन । उनिहरुलाई म न हँुदा पनि आर्थिक समस्याले छुन नसकोस त्यो नै वास्तविक माया हो । जीवन विमा अनिवार्य बचत हो । सम्भावित जोखिमको सुरक्षा पनि हो । जीवन बीमा म जिबित रहेको खण्डमा मेरो लागि हो, कारण वस म रहेन भने उक्त विमा मेरो परिवारको लागि हो । वास्तवमा विमा जीवनको क्षतिको लागि होईन, आम्दानीको क्षतिको लगि हो । त्यसैले सम्भावित जोखिमहरुलाई मध्यनजर गर्दै विमा अनिवार्य छ ।

जिवन विमा भन्ने वित्तीकै मानिसको जिवनमा आईपर्ने विभिन्न प्रकारका जोखिमहरुमा आर्थिक सहयोग गरी आर्थिक तनावबाट मुक्त गराउने कार्य भन्ने बुझीन्छ । जिवन भन्ने वित्तीकै मानिसको शरीर भन्ने बुझीन्छ । विमकले तोकिएको रकम वचत गर्न लगाई विमितको जिवनको भविश्यमा आइपर्ने अनिश्चित जोखिमलाई न्यूनिकरण गर्न आर्थिक सहयोग गर्ने व्यवसायलाई विमा भनिन्छ ।

जिवनमा आउने सम्भावित जोखिमबाट आफू र भावि सन्ततिलाई सुरक्षा गरी वीमकले तोकिएको अवधिसम्म नियमित किस्ता तिरी किस्ताको अन्तिम अवधिसम्म जिवनमा कुनै घटना नभएमा वचत र वोनस सहित एकमुष्ट रकम उपलब्ध गराउने वित्तिय व्यवसायलाई जिवन विमा भनिन्छ । जिवन विमामा पनि विभिन्न प्रकारका योजनाहरु हुन्छन्, । ति योजना अनुसार मानव जीवनका जोखिमहरु पनि फरक-फरक भएपनि सबैको व्याख्या विश्लेषण गर्न सम्भव नभएपनि जीवन विमाका मुख्य फाइदाहरु यसप्रकार छन् ।

१) कुनै पनि जीवन विमा गरेको मानिसको दुर्घटनाबाट मृत्यु भएको खण्डमा विमितले जति लाख वा जति करोडको विमा गरेको छ त्यसको ठिक डबल रकम विमितको नजिकको नातेदारलाई विमा कम्पनीले हस्तान्तरण गर्दछ ।

२) विमितको कुनै दुर्घटना नभई कालगतिले मृत्यु भएमा विमितले जति लाखको वा जति करोडको विमा गरेको छ त्यति रकम विमा कम्पनिले विमितको नजिकको नातेदारलाई विमा कम्पनीले हस्तान्तरण गर्दछ ।

३) माथिको १ र २ को विमितले पाउने रकम विमितले सुरुको किस्ता मात्र वा अन्तिम किस्तासम्म तिरेपनि पाउने गर्छ ।

४) दुर्घटना भएको तर मृत्यु नभई अंगभङ्ग भएको खण्डमा पनि जोखिम वहन गर्दछ ।

४) पछिल्लो समयमा जिवन विमा कम्पनिले प्राणघातक रोगहरुको पनि जोखिम वहन गरेको छ ।

यि माथिका फाइदाहरु जीवन विमा कम्पनीले विमा गरेको सुरुका मितिदेखि नै जोखिम वहन गरेको हुन्छ ।

जीवन विमा गरको विमितले निम्न बमोजिम कार्य गरेमा जीवन विमा कम्पनीले जोखिम वहन गर्दैन ।

१) आफैले आत्महत्या गरेमा,
२) अनुमतिपत्र नलिइ सवारी चलाई दुर्घटना भएमा,
३) सरकारले रोक लगाएका कार्य गरी दुर्घटना भएमा,
४) विमा कम्पनीले तोकिएको किस्ता समयमा नआएमा,

५) अन्य नियम विपरीत कार्य गरी दुर्घटना भएमा,

निर्जीवन विमा कम्पनी

मानिसले जीवन निर्वाहा गर्नका लागि विभिन्न प्रकारका कार्य गर्दछन् वा व्यवसाय गर्छन् । त्यस्तो अवस्थामा मानविय क्षति लगाएत पेशा व्यवसाय र विभिन्न प्रकारका सम्पतिको भविश्यमा आउन सम्ने जाखिमलाई मध्यनजर गर्दै क्षतिपूर्ति दिने गरी विमितबाट निश्चित रकम लिएर विमित र विमक विच एक प्रकारको एक वर्षको लागि सम्झौता गरिएको हुन्छ । त्यसरी सम्झौता गर्ने कम्पनीलाई निर्जीवन विमा कम्पनी भनिन्छ ।

कुनैपनि भविश्यमा दुर्घटना भन्ने कुरा कुनै संकेत गरेर आउदैन, दुर्घटना भन्ने अकस्मात आउने जोखिम हो । धेरै मानिसहरु आफुले सञ्चालन गरेको व्यवसाय वा सवारीको विमा गर्ने भन्ने वित्तीकै विमा कम्पनीले सित्तैमा पैसा खान्छ भन्ने सोचेर विमा नगरी व्यवसाय सञ्चालन गरेको पाइन्छ ।

त्यसकै फल स्वरुप उनिहरुले भविश्यमा ठुलो क्षति वेहोर्नु परेको घटना सर्ववित्तितै छ । धेरैले सवारी दुर्घटना वा व्यवसाय दुर्घटनापछि आर्थिक रुपमा माथि उठ्न नसकेर विदेशिनु परेको अवस्था आएको छ । त्यसैले आफुले गरीरहेको व्यवसाय वा सवारीको समयमै विमा गराई भविश्यमा आउने दुर्घटनाबाट हुने आर्थिक बोझबाट बच्नको लागि सबैलाई जीवन विमा गर्नहुन हार्दिक अनुरोध गर्दछौं ।

निष्कर्ष

समग्रमा विमा सम्बन्धी जस्ले जस्तो अर्थ लगाएपनि भविष्यमा आउन सक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न आफू रहँदा आफुलाई आफू नहँदा भावि सन्ततिहरुलाई आर्थिक रुपमा सहयोग गरी मानसिक तनावबाट मुक्त गराउने एक प्रकारको व्यवसायीक कम्पनी हो त्यसैले सबैले आफू र भावि सन्ततीलाई आफू र आर्थिक रुपमा सुरक्षित गर्नका लागि विमा गर्र्नु अति आवश्यक देखिन्छ ।

लेखक : नेको इन्सुरेन्स कम्पनी लि. कोहलपुरमा कार्यरत छन् ।