कञ्चनपुर क्षेत्र १ मा २८ वर्षपछि एमालेको उदय

महेन्द्रनगर ।
कञ्चनपुर निर्वाचन क्षेत्र १ मा लगभग अढाइ दशकपछि एमाले विजयी भएको छ। नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले पूर्व मन्त्री विना मगरलाई फराकिलो मतान्तरले पराजीत गर्दै विजयी भएका हुन्।

मगरलाई तामाङले ५ हजार बढी मतान्तरले पराजित गरेका हुन्। तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याएकी छन्। मगर २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन्।

यो क्षेत्रमा २०५१ पछिका निर्वाचनमा नेकपा एमालेले जीत हासिल गर्न सकेको थिएन। ०५१ को निर्वाचनमा एमालेका रामकुमार ज्ञवाली यो क्षेत्रबाट निर्वाचित भएका थिए। २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट निर्वाचित भएका थिए।

२०५६ को निर्वाचनमा भने नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले कांग्रेसको विरासत जोगाएका थिए। २०६४ मा नेकपा (माओवादी) विजय भयो। २०७० मा भने कांग्रेसले फेरि आफ्नो अस्तित्व जोगायो। विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेसले यो क्षेत्रमा निर्वाचन जितेको छ।

२०५१ पछिका निर्वाचने ‘कमब्याक’ हुन नसकेनको एमालेले यसपटक किल्ला भत्काएको छ। २०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा निर्वाचन जितेको थियो।

नेकपा एमाले कञ्चनपुरका सह–सचिव कर्ण वहादुर चन्दले ०५१ पछि एमालेले यो क्षेत्रमा निर्वाचन जीतेको बताए। ‘०५१ मा यो क्षेत्रमा एमालेले निर्वाचन जितेको थियो। त्यसपछिका निर्वाचनमा एमालले विजयी हुन सकेन’, उनले भने, ‘०७४ मा माओवादी केन्द्रसँग गठबन्धन भएको हो। अहिले एमालले एक्लै फराकिलो मतान्तरले विजयी भएको छ।’