जनज्योति पब्लिक हाईस्कुलमा पाँचौं सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर २ मा रहेको जनज्योति पब्लिक हाई स्कुलमा पाँचौ सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।

बिहिबार ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायतले उद्घाटन गरी पाँचौं सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु गरेका हुन् ।

उद्घाटन गर्दै वडा अध्यक्ष कठायतले संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरुलाई एउटै परिधिमा राखेर बजेटको व्यवस्थापन गर्ने बताएका थिए । संस्थागत विद्यालयहरुमा अभिभावकहरुको समेत प्रतिनिधित्व हुने गरी अभिभावक संघको समेत स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । आगामी वर्षबाट कोहलपुर २ का संस्थागत विद्यालयहरुमा जीवन उपयोगी सिप कार्यक्रम सुरु गर्ने कठायतले प्रतिबद्धता व्यक्त गरे ।

यस्तै जनज्योति पब्लिक हाई स्कुलका प्रिन्सिपल जनक चन्दले स्थानीयदेखि राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन खेलकुदलाई विशेष जोड दिए । विगतमा कोहलपुर, जिल्ला स्तरीय र प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिई उत्कृष्ट नजिता ल्याएको भन्दै कोच, विद्यार्थी र शिक्षकहरुलाई धन्यवाद समेत दिएका थिए ।

खेल सप्ताहमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म विभिन्न विधामा खेलकुद हुन लागेको चन्दले जानकारी दिए । खेल सप्ताह मंसिर १० गतेसम्म चल्नेछ ।

यस्तै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद चन्द, पूर्व प्रिन्सिपल बेगम चन्द लगायतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा संगितकार बलु तामाङ्गको समेत उपस्थिति रहेको थियो ।