मतदान अधिकृत र मतपेटिका बोकेको जीप दुर्घटना

धनगढी ।
डोटीमा मतदान अधिकृत र मतपेटिका बोकेको जीप बिहीबार दुर्घटना भएको छ । बडीकेदार गाउँपालिका–५, मार्कोटस्थित उपस्वास्थ्य चौकी मतदान केन्द्रमा खटाइएको बा२झ २२३५ नम्बरको जीप अत्तरकाँडामा दुर्घटना भएको हो ।

उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्र ‘क’का मतदान अधिकृत उत्तम उपाध्याय र मतदान केन्द्र ‘ख’का अधिकृत दिनेशसिंह रैखोला सवार जीप दुर्घटनामा परेको डोटीका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त खातीले जानकारी दिए ।

उनका अनुसार सो जीपमा मतदान केन्द्र ‘क’ र ‘ख’का लागि मतपत्र समेत रहेका थिए ।

दुर्घटनामा परी उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्र ‘ख’का अधिकृत रैखोलाको हातमा सामान्य चोट लागेको छ ।

जीपको ‘ब्रेक फेल’ भएर भित्तामा ठोक्किएर सडकमै पल्टिएको वरिष्ठ प्रहरी नायब निरीक्षक खातीले बताए ।

बीपीनगर प्रहरी चौकीको टोलीको सहयोगमा मतदान अधिकृत र मतपत्र उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।