बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ घर भएको सामूहिक आवासको उद्घाटन गरिएको छ । १ करोड ७६ लाख लागतमा निर्माण भएका सामूहिक आवासको नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मूख्यमन्त्री शंकर पोख्रेलले एक समारोहका बिच उद्घाटन गरेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका सामूहिक आवासमा खजुरा क्षेत्रकै अति विपन्न परिवार बस्न थालेका छन् । २१ वटा घर मध्ये गत वर्ष निर्माण भएका १६ घरमा विपन्न परिवार बस्न थालेका हुन् । सामूहिक आवासको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिब पोख्रेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाएका छन् ।
चुनाव टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको बताउदै उनले पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्न हिच्किचाएको दाबी गरे । जनताको वीचमा जान गठबन्धन सरकार डराइरहेकाले वर्तमान सरकार जनताको काम भन्दा एमालेको विरुद्ध लागिपरेको भन्दै महासचिव पोख्रेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन सरकार बनाउनमै बिताएका टिप्पणी गरे ।
पोख्रेलले मूल्यवृद्धि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र व्यापार घाटा बढ्दो क्रममा रहेकाले देशमा आर्थिक तरलता बढ्दै जाँदा देश आर्थिक संकटमा पर्ने संकेत देखिएपछि बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेको जिकिर गरे । विकास र समृद्धिको नेतृत्व एमाले मात्र गर्न सक्ने भन्दै महासचिब पोख्रेलले देश अगाडि बढाउन बलियो शक्ति निर्माण गर्न जरुरी भएको भन्दै सामाजिक न्यायको पक्षमा एमाले स्थापित भएको जिकिर गरे ।
सामूहिक आवास निर्माण गरी बिपन्न परिवारलाई हस्तान्तरण गर्नु खजुरा गाउँपालिकाको नमूना काम भएको भन्दै महासचिब पोख्रेलले बधाई समेत दिए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले तराई समृद्धि कार्यक्रम अन्तरगत् १ विगाहा जमिनमा निर्मित २१ घर निर्माण गरेर विपन्न नागरिकलाई हस्तान्तरण गरिएको बताए । अध्यक्ष कक्षपतिले गाउँपालिकाका सबै विपन्न नागरिकलाई सुरक्षा र जीविकोपार्जनमा गाउँपालिका सारथी बन्दै आएको बताए ।
उद्घाटन कार्यक्रममा अध्यक्ष कक्षपतिले संघ, प्रदेशको सहयोगमा गाउँपालिकाभित्र मदन भण्डारी सभा हल, शीत भण्डार, औद्योगिक ग्राम, खेलकुद ग्राम, मिनी रंगशाला, १५ शैयाको अस्पताल, स्वास्थ्य चौकी, विश्वविद्यालयका लागि जग्गा उपलब्ध, ग्रीन सिटीको प्रक्रिया अगाडि बढाएको र करिब ८५ किलोमिटर सडक कालोपत्रे लगायतका गौरवका आयोजना संचालनमा रहेको उल्लेख गरे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्