कोहलपुर नगरपालिका शैक्षिक सत्र २०८० को अन्त्यतिर निकै चर्चामा रह्यो । धेरैको ध्यान यसले तान्यो । कारण थियो, शिक्षा क्षेत्रमा चालिएको कदम, परीक्षा प्रणालीमा गर्न खोजिएको सुधार । यो कदमपछि कति झस्किए, कतिको वास्तविकता पर्दाफास भयो, कतिपय त भुंग्रोमा परे । तर, यसले कोहलपुरको शिक्षा क्षेत्र सुधारमा आशाको दियो बालिदिएको छ ।
कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको नगर प्रमुख पूर्णप्रसाद आचार्य बताउँछन् । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुरुप गुणस्तर सुधार, आवश्यक भौतिक पूर्वाधार निर्माण, योग्य र दक्ष जनशक्ति ब्यवस्थापन, विषयगत शिक्षक पूर्ति, अयोग्य शिक्षकहरुको बहिर्गमन, मर्यादित परीक्षा प्रणालीको विकास लगायत कामहरु थालिएको छ ।
अभिभावकले ढुक्क भएर कोहलपुरका विद्यालयमा आफ्ना नानीबाबु पढाउन सक्ने वातावरण निर्माण गर्न आफू लागिपरेको नगर प्रमुख आचार्यको भनाइ छ । ‘हामीले एकाएक कदम चालिरहँदा केही अप्ठेरो जस्तो, केही भ्रम परे जस्तो देखिए पनि भविष्यमा कोहलपुरको शैक्षिक उन्नयनमा यो कोशेढुंगा सावित हुनेमा दुई मत छैन आचार्य भने–‘कोहलपुरमा पढाईका लागि राम्रो वातावरण निर्माण गर्नु नै यो अभियानको मुख्य उद्देश्य हो ।’ परीक्षा प्रणालीमा बेथितिको जालो तोडिदिएको आचार्यको दाबी छ ।
आफुहरु आइसकेपछि कोहलपुरको शैक्षिक सुधारका निमित्त थुप्रै कामहरुको सुरुवात गरिएको पनि उनले बताए । विद्यालय अनुगमन र प्रतिवेदनका आधारमा विद्यालय र पठनपाठन सञ्चालन सम्बन्धी नीतिहरु बनाउने र त्यसको कार्यान्वयन गर्ने गरिएको उनको भनाइ छ । चालू आर्थिक वर्षको शैक्षिक क्षेत्रमा ४० हजार बढी विद्यार्थीहरु अध्ययनरत कोहलपुरमा शिक्षा क्षेत्रको सुधारसँगै गुणस्तरीय शिक्षा प्रदान गर्नका निमित्त कोहलपुर नगरपालिकाले थुप्रै कामहरु गर्दै आएको उनले बताए ।
शिक्षा शाखा प्रमुख रामबहादुर हमालका अनुसार शिक्षण सिकाई सहजकर्ता कार्यविधि निर्माण गरी करिव एक सय जना शिक्षण सिकाई सहजकर्तालाई विषयगत रुपमा व्यवस्थापन गरिएको छ । उनले भने–‘शिक्षक सङ्ख्या कम रहेका विद्यालयमा नगरपालिका अनुदानबाट एक सय जना शिक्षक तथा कर्मचारी व्यवस्थापन गरिएको छ । यसले विषयगत शिक्षकको अभाव टार्न ठूलो मद्दत गरेको छ ।’
टिनको छाना रहित विद्यालय बनाउने अभियान अन्तर्गत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट हाल सम्म १५ विद्यालय भवनहरु निर्माण गरिएको पनि सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले बताए । ‘कोहलपुर गर्मीमा अत्यन्तै गर्मी र जाडोमा अन्तन्तै जाडो हुने ठाउँ भएकाले गर्मीमा टिन पोल्ने र चिसोमा शीत चुहिने हुँदा विद्यार्थीलाई पढ्न निकै गाह्रो हुने गरेको थियो उनले भने–‘विद्यालयका भवनहरु टिनका छानारहित बनाउनका निमित्त प्राथमिकताका साथ नगरपालिकाले काम गर्दै आएको छ ।’ दुई वटा विद्यालयको स्तरोन्नति गरी नमुना विद्यालय बनाइएको पनि उनले बताए । कोहलपुर २ प्रेमनगरस्थित शिवशक्ति आधारभूत विद्यालय र वडा नम्बर १४ को सिर्जना प्राथमिक विद्यालयलाई नमुना विद्यालय बनाइएको शिक्षा अधिकृत रविलाल मिजार बताउँछन् ।
सामुदायिक विद्यालयहरुमा स्मार्ट बोर्डको माध्यमबाट पठनपाठन गर्ने कार्यको सुरुवात पनि गरिएको मिजार बताउँछन् । सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा बायोमेट्रिक हाजिरी जडान गरिएको छ । उनले भने–‘सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेटको व्यवस्थापन गरिएको छ । शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन ल्यापटप वितरण गररएका छ । सबै सामुदायिक विद्यालयहरुमा इ हाजिरीको व्यवस्थापन गरिएको छ । शिक्षकहरुलाई पनि प्रविधिसँग अपडेट बनाउँदै लैजाने गरी नीतिगत सुधारका कामहरु भइरहेको छन् ।’ छात्राहरुलाई सामुदायिक विद्यालयमा नियमित गराउनका लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइएको शिक्षा अधिकृत शीला गौतमको भनाइ छ ।
यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारको बाल विकास केन्द्रलाई स्तरोन्नति गरिएको र ९ वटा विद्यालयहरुलाई बालमैत्री विद्यालय निर्माण गरिएको शिक्षा अधिकृत गौतमले बताइन् । कृष्ण माध्यमिक विद्यालय कोहलपुर १ कौशिलानगर, सिद्धार्थ माध्यमिक विद्यालय कोहलपुर ५ रझेना, बाल शिक्षा माध्यमिक विद्यालय कोहलपुर १३ भरैया, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोहलपुर ७ लखनवार, हिमालय मदरसा गरिब नवाज कोहलपुर ३, विद्याज्योति प्राथमिक विद्यालय कोहलपुर १२, राधाकृष्ण प्राथमिक विद्यालय कोहलपुर १४, सृजना बाल प्राथमिक विद्यालय कोहलपुर १४ र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कोहलपुर १३ सिमरीलाई बालमैत्री विद्यालय निर्माण गरिएको हो ।
‘शिक्षण सिकाईलाई प्रभावकारी गराउनका निमित्त बालविकास शिक्षकहरुलाई आधारभूत तालिम प्रदानसँगै उनीहरुलाई सामग्री समेत वितरण गरिएको छ’ गौतमले भनिन् । उनले पाँच वटा बालविकास केन्द्रको स्तरोन्नती गररिएको पनि जानकारी दिइन् ।
सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा वाइफाई जडान गरिएको छ । विद्यालयहरुमा फिल्टरसहितको शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको छ । शिक्षा अधिकृत गौतमका अनुसार आर्थिक बर्षमा मात्रै ४ वटा विद्यालयहरुमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । ज्ञानज्योति मावि बगिया, नेपाल राष्ट्रिय आवासीय विद्यालय चटार, नेपाल राष्ट्रिय आवासीय विद्यालय चन्नहवा र शिवशक्ति आवासीय विद्यालय प्रेमनगरमा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो । राम्रो काम गर्ने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
६ वटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मी मावि, कृष्ण मावि, त्रिभुवन मावि, राम मावि र ज्ञानज्योति मावि र सगरमाथा ज्ञानपुञ्ज माविमा सिसिटिभी क्यामेरा जडान गरिएको गौतमले जानकारी दिइन् । इमिस तथ्यांकका आधारमा विद्यालयहरुमा रकम निकासा गरिएको छ । विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्ने सफ्टवेयर सम्बन्धी शिक्षकलाई जानकारी गराउन चालु आर्थिक वर्षमा कोहलपुरका ८० बढी शिक्षकहरुलाई इमिस तालिमको प्रदान गरिएको गौतमले बताइन् ।
‘सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको छ,’ उनले भनिन्, ‘धेरैलाई यो सम्बन्धि ज्ञान छैन, त्यसको समाधान र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन तालिम प्रदान गरिएको हो ।’ यस्तै माध्यमिक र आधारभूत तह स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिएको छ । मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता र उपमेयर कप महिला क्रिकेट प्रतियोगिता समेत गर्दै आएको सामाजिक विकास समितिका संयोजक विकले बताए ।
कोहलपुर नगरपालिकाले शैक्षिक गुणस्तरमा मात्रै ध्यान दिएको छैन । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा पनि प्राथमिकता दिएर लगानी गर्दै आएको सामाजिक विकास समिति संयोजक विक बताउँछन् । गत आर्थिक वर्षदेखि विद्यार्थीको अनुपातका आधारमा विद्यालय भवनहरु धमाधम निर्माण भइरहेको उनले बताए । त्यसैगरी विद्यालयको पर्खाल निर्माणदेखि खानेपानी, शौचालयसम्मको व्यवस्थापनमा ध्यान दिएर नगरपालिकाले काम गर्दै आएको पनि विक बताउँछन् ।
चालू आर्थिक वर्ष २०८१÷२०८२ मा कोहलपुर नगरपालिकाको शिक्षा क्षेत्रमा मात्रै ३५ करोड ४६ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ । त्योमध्ये २७ करोड ७३ लाख ६ हजार ससर्त अनुदानको बजेट हो भने ८ करोड ३९ लाख ४० हजार बजेट निसर्त अनुदानतर्फको हो । कोहलपुर नगरपालिकामा सामुदायिक ३१ र संस्थागत ४९ गरी ८० वटा विद्यालय छन् । ४० हजार ५०६ जना बालबालिका अध्ययन गरिरहेका छन् । कोहलपुर नगरपालिकाले शिक्षा सम्वन्धी हालसम्म १० वटा ऐन, नियम र कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याइसकेको नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी बताउँछिन् ।
कोहलपुर नगरपालिका शिक्षा ऐन, २०७६, कोहलपुर नगरपालिका शिक्षा नियमावली, २०७४, शिक्षक दरबन्दी मिलान कार्यविधि, २०७६, वित्तीय समानीकरण कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७६, अपाङ्गता भएका विद्यार्थीहरुको लेखाजोखा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७, बालविकास केन्द्र तथा बालविकास शिक्षक समायोजन कार्यविधि,२०७८, विद्यालय स्थापना, कक्षा थप, स्थानान्तरण र समायोजन कायविधि,२०७८, आधारभूत तहको वार्षिक मुल्याङ्कन तथा नतिजा प्रकासन कार्यविधि, २०७८, संस्थागत विद्यालय वर्गीकरण मापदण्ड, २०७८ र शिक्षण सिकाई सहजकर्ता व्यवस्थापन कायविधि २०७९ जारी गरेर कार्यान्वयनमा ल्याइएको उपप्रमुख सुवेदी बताउँछिन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्