बैतडीमा लौरो बेचेर चाडबाड खर्चको जोहो

बैतडी ।
रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आउनुभएको छ ।

लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ । सानो बारी र घरको आँगनसमेत नगरपालिकाको डोजरले सडक खन्दा मासियो । चट्याङले श्रीमतीको मानसिक अवस्था ठीक छैन ।

चाडबाडको बेला घरमा चामल नभएपछि लौरो बनाएर बिक्री गर्न बैतडी सदरमुकाम पुग्नुभएका दशरथचन्द नगरपालिका–२, देहिमाडौंका दलित कृष्ण लावडले लौरो बिक्री भए चामल किनेर घर फर्किने योजना सुनाउनुभयो । घँगारु र रुईसको लौरो बलियो हुने भएकाले पाँच सयदेखि आठसय रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

बनजङ्गलबाट घँगारु र रुईस सङ्कलन गरेर लौरो बनाएर छाक टार्दै आउनु भएका कृष्ण लावडले गरिबलाई हेर्ने कुनै नेता नभएको बताउनुभयो । लौरो बनाउने काठ खोज्न जाँदा पनि सामुदायिक वनका पदाधिकारीले दुःख दिने गरेको उहाँले बताउनुभयो ।

पीडा सुनाउँदै उहाँले भन्नुभयो,“ २०७३ सालमा घरमा चट्याङ प¥यो । चट्याङ लागेपछि उपचारकै क्रममा श्रीमतीको मानसिक अवस्था बिग्रियो । गाउँमा रोजगारी नहुँदा भारत गएको छोरा बेपत्ता छ । नाति नातिना छाडेर बुहारी अन्यत्र विवाह गर्न गई । २०७४ सालमा सडक खन्न आएको दशरथचन्द नगरपालिकाको डोजरले भएको घरको आँगनसमेत लगेपछि उठिबास भएको छ ।”

स्थानीय सरकारको डोजरबाट थप पीडित भएको बताउनुहुने कृष्ण लावडले दैवले बज्रपात बर्साउँदा स्थानीय सरकारको डोजरले घरको आँगनसमेत सडकमा मिलाइदिएको पीडा सुनाउनुभयो ।

“जनता आवासका लागि पटक पटक भवन डिभिजन कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म बस्ने घर मिलेन” लवडले भन्नुभयो, “ त्रिपाल ओढेर हिँउद र बर्खा बित्ने गरेको छ । यो पटक पनि नेताहरु भोट माग्न गाउँमा आएका छन् । यसपालि त कसैलाई पनि भोट हाल्दिनँ ।”

बैतडीको प्रसिद्ध घँगारुको लौरो बनाउने राम्रो सीप भए पनि सरकारी तथा गैर सरकारी संस्था कसैले कुनै सहयोग नगरेको उहाँले बताउनुभयो ।

घरेलु विकास समिति र स्थानीय सरकारले लौरो बनाउन मेसिन औजार सहयोग गरे सेना र प्रहरीले प्रयोग गर्ने छडी बनाउने धाको रहेको कृष्ण लावडले बताउनुभयो । दलितका नाममा खुलेका संस्थासँग औजार मेसिनको माग गरे पनि सहयोग नगरेको उहाँले बताउनुभयो ।