काठमाडौंमा सिटामोलको अभावको खबरले स्तब्ध भए

देशको राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको खबरले स्तब्ध भएँ । देशको स्वास्थ अवस्थामा सरकारको उदासिनता र नेताहरु संझिएँ । पहाडी क्षेत्रमा केही जिल्लामा शैक्षिक वर्ष सकिनै लाग्दासम्म पनि पुस्तक नपुगेको समाचार सुने । अनि राजनैतिक जिम्मेवारी के होला भनी संझिएँ ।

यातायातमा मनोमानी भाडा असुलेको तर कुनै पनि निकायले रोक्न पहल नगरेको अर्को खबर सुने । विदेशीहरु नेपाल घुम्न आउदा पनि नेपाल भित्रै लुटिएको खबर सुने । अनि सुरक्षा र आथित्यताले पर्यटन क्षेत्रमा पार्ने प्रभावको बारे चिन्ताले ग्रसित बने ।

एकजना मान्छेले न्यायको लागि अदालत धाउदा झण्डै सात वर्षसम्म पनि फैसला नभएको कुरा सुने । अनि न्याय मरेको देशको कथा सम्झिएँ ।
आफ्नै घर अगाडि कालोपत्रे गरेको बाटो हेरे । कालोपत्रे गरेकै एक हप्ता नपुग्दै उत्रियो, ठेकेदारले सबै पैसा पाईसकेको र सिकायत गर्दा पनि नबनाउदाको अवस्था संझिएँ ।

कर्णाली प्रदेशमा तिनदिन हिडेर चामल किन्न सदरमुकाम पुगेको, अनि दुई दिन लाईनमा बसेपछि दुई किलो चामल पाएको कथा संझिएँ । सरकारले गर्नुपर्ने काम के हुन्थ्यो र के होला भनी मनमनै प्रश्न गरे ।

कार्यालयमा पुग्दा ५ मिनेटमै हुनुपर्ने काम झन्झटका साथ झण्डै दुईदिन लगाउने कुरा सम्झिएँ, हाम्रो देशको सिष्टम र नेताहरुको लाछाचुडी र हानाहान संझिएँ ।

म्यानमारमा आङसाङ् सुकीलाई प्रजातन्त्रको जननी मान्ने देशमा भ्रष्टाचारको मुद्दामा २६ वर्ष सजाए दिने फैसला भएको खबर पढे । नेपालका सबै दलका नेताहरु खाने र लुट्ने ठाउँमा संगै भएर सिष्टम नै भ्रष्टाचारी बनाएर देश लुटिरहेको सम्झिएँ ।

हिजो मात्र देशको कुख्यात डनले निर्विरोध संसद पदमा विजय भएको कुरा न्युजमा पढें, अनि कानुन र न्याय कस्तो हुन्छ होला ? भन्दै आफैलाई प्रश्न गरे

अब भन्नुहोस्, के नेपालमा भ्रष्टाचारी र दलाली जन्माउने नेताहरु मात्र छन् ? के आफू बन्ने र आसेपासे बनाउने मात्र नेता छन् ? के सत्तामा पुग्न र आफ्नो सिट सुरक्षित गर्न मात्र नेता बन्न चाहन्छन् ? तपाईं हाम्रा दैनिकीसंग, तपाईं हामीले भोगेका कठिनाईसंग कसैलाई मतलव छैन ।

५ वर्ष पुग्यो कि केही न केही रुप धारण गर्दै जनता झुक्याउन फेरि घरदैलोमा आईपुग्छन्, फेरि हामी हौसिन्छौं, ३० वर्षदेखि नै देश लुटिरहेको, दिनदिनै परिस्थितिले हामीलाई मर्न बाध्य बनाइरहेको उसैलाई जिताउँछौं अनि गर्व गर्छौ ।

तपाईं हाम्रो घरआगनमा आउने हरेकलाई माथिका परिस्थितिको हिसाव माग्नुहोस्, अनि सन्ततिको भविष्य संझिनुहोस्, आफ्नो दैनिकी संझिनुहोस्, समाज र देशको अवस्था सम्झिनुहोस्, र विवेकी तवरले सहि मान्छे चुनेर समाज र देशको लागि न्याय गर्नुहोस् ।

टंक के.सी.
(प्रधानाध्यापक)
शिखा एकेडेमी कोहलपुर- पिपरी