थरुहट आन्दोलन र उच्च स्तरिय राजनितिक संयन्त्र

नेपालमा २०६२/६३ को आन्दोलनको सफलतापछि जातिय आधारमा प्रदेश बनाउने वा नबनाउने, राजतन्त्र रहने वा नरहने, संघियता नै हुने वा नहुने, जनवाद वा बहुदलिय लोकतन्त्र हुने तथा जल, जमिन र जंगलमा कसको अग्राधिकार हुने भन्ने बहस र क्षेत्रगत तथा जातिगत आन्दोलनहरु प्रशस्त भए ।

प्रमुख राजनितिक दलहरुका प्रमुख नेताहरु यिनै कित्ताहरुमा समर्थन र विरोधमा देखिएका थिए । तर उनीहरुले दलको स्पष्ट धारणा ल्याउन सकिरहेका थिएनन् । प्रायः सबैले दलगत तथा ब्यक्तिगत पहिचान र नेतृत्वको स्वार्थको रोटी सेक्न मै ध्यान दिएको जस्तो लाग्छ मलाई । यस्तैमा मधेशमा एक मधेश एक प्रदेशको नारा लियर हिंसात्मक आन्दोलन भयो । माओवादी भर्खर जंगलबाट निस्किएको दल भएकोले हथियारको प्रभुत्वको धङधङी बोकेको अवस्था र मधेशीहरु बिहारी शैलीका दबगीं राजनितीका अनुयायि जस्तै भएर निस्किएको ।

दुवै पक्षबिच थुलै रक्तपात पनि मच्चियो । दोहोरो आक्रमण प्रत्याक्रमण भयो । यस्तै कारणहरुले मधेशीहरु सबै जसो नेताहरु एक भएर मधेश एक प्रदेशको नारामा गाँसिन पुगेर मेधेशमा ठूलै मधेश आन्दोलनले स्वरुप लिन सक्यो । अब मेधेशको आन्दोलनको आगोलाई शान्त गर्ने सिप कुनै दलमा रहेन । सबै दलहरु मधेश आन्दोलनको अगाडी निरीह प्राणी जस्तै देखिन थाले । मधेश आन्दोलनको फलस्वरुप नै पहिलो संबिधान सभाको निर्वाचनमा मधेशी दलहरुले ठुलै आकार लिए ।

सत्ता बनाउने र खसाउने सम्मको हैसियतमा आईपुगे उनीहरु । के राजावादी, के माओवादी, के काँग्रेसी, के एमाले, सबै जसो राजनितिक दलहरुले मधेशवादी दलहरुको चाकरी र चपलुसी गरेकै हो । यस्तैमा एक मधेश एक प्रदेश नेपालका जनजातीहरु मध्य थारु जनजातीलाई मन परेको थिएन । यसै कसमकस कै बेलामा माओवादीबाट बिद्रोह गरेका लक्ष्मण चौधरी र जनसम्पर्कको जागिरबाट राजीनामा दिएर आएका दुई युवकहरु थरुहट आन्दोलनको सुत्रपात गरे, यद्यपी यसको पछाडी नेपालका मूलधारका राजनितिक दलहरुको प्रवल समर्थन रहेको थियो । उनीहरुमा कसरी मधेश आन्दोलनलाई काउन्टर दिने भन्ने चिन्ता परेकै हो त्यति बेला । उनीहरुले थरुहट आन्दोलनको शुरुवात भएपछी थरुहट आन्दोलनका जस्तोसुकै क्रियाकलापहरुलाई नजरअन्दाज गरे ।

थरुहटले सेना बनाउने होस वा बनजंगलको ट्याक्स असुल्ने होस, सबै खाले क्रियाकलापहरुमा आँखा चिम्लेकै हुन् । यसले गर्दा थरुहट आन्दोलनले पनि ठुलै उँचाई लिन सकेको थियो । यस्तैमा म पनि कैलालीको सुखडमा बेस संस्थाको कर्मचारीको हैसियतले कार्यरत थिएँ । थरुहट आन्दोलनको कार्यकर्ता नेताहरुले दिनहुँ जसो आमसभा, कोणसभा, चक्काजाम, ढुगांमुढा, टायर बाल्ने, लाठी प्रदर्शन जस्ता क्रियाकलापहरु गरी नै रहन्थे । यस्तैमा एक दिन सखडमा पनि कोणसभा भयो र त्यसमा मलाई थरुहटको तर्फबाट बोल्न भनियो । म पनि नेबिसंघको राजनिति गरेको ले राजनितीमा चासो भैरहने मान्छ । मैले पनि थरुहट आन्दोलनको औचित्यमा केहि शब्द खर्च गरेर बोलिदिएँ ।

मेरो बिचार त्यहाँ भएका थरुहट आन्दोनका पक्षधर कार्यकर्ताहरुले मन पराउनु त भयो यसको अलावा पहाडी मधेशीहरुले पनि मन परायछन् क्यारे । मलाई त अरु कार्यक्रममा पनि बोलाईन थालियो । यता आफ्नो जागिरे जीवन, उता आन्दोलन । दोधारमा परियो । अनि जे त होला भनेर थरुहट आन्दोलन मै लाग्ने निधो गरेर जागिरे जीवनलाई तत्काल त्याग गरेँ । थरुहट आन्दोलनमा मलाई सक्रिय बनाउन दिल्ली बहादुर चौधरी, योगेन्द्र थारु र गोपाल दहित जी को ठुलो हात रहेको थियो । थरुहट आन्दोलनको उँचाईले मधेश आन्दोलनको कठोरबादलाई केही हद सम्म भएपनि निस्तेज पार्न सफल भएकै थियो । यदि थरुहट आन्दोलन नभएको भए नेपालमा मधेश आन्दोलनले पुर्व देखि पश्चिम महाकाली सम्मको तराई भूभागलाई मधेश प्रदेश बनाई छाड्ने थिए र सायद छुट्टै मुलुक पनि ।

यस्तै थरुहट आन्दोलनमा निरन्तरता दिँदै गर्दा मलाई थरुहट सँयुक्त आन्दोलनको टास्कफोर्सको सदस्य सम्म बनाईयो । मलाई थरुहट आन्दोलनमा सैद्धान्तिक बिचार बनाउने जिम्मेवारी पनि दिईयो । उता थरुहट आन्दोलनको उचाईबाट प्रभावित भएर पुर्वका लिम्वुवान र थरुहटको सँयुक्त दल पनि घोषणा भएको थियो, जसमा लक्ष्मण थारुलाई अध्यक्षको जिम्मेवारी दिईएको थियो । थरुहटलाई आर्थिक सहयोग पनि मनग्य आउन लागी सकेको थियो । भारतका मधेश आन्दोलनका शुभचिन्तकहरु थरुहट र मधेश आन्दोलन बिच एकता गराउन सक्रिय भै सकेका थिए । तर थरुहटको केही नेताहरुलाई त्यो मन परेको थिएन भने मैले त झन् एक मधेश एक प्रदेशको शुरु देखि नै बिरोध गर्दै आएको थिएँ । यसमा अझ मैले लेखेको सैद्धान्तिक दस्तावेजमा चितवन भन्दा पश्चित थरुहट नै हुनुपर्दछ भन्दै समावेशी लोकतन्त्रलाई प्रमुख सिद्धान्त बनाएर प्रस्तुत गरेको थिएँ जसलाई चितवनको नारायणगढमा भएको थरुहट आन्दोलनका कार्यकर्ता र नेताहरुको भेलाले अनुमोदन समेत गरेको थियो । यस आधारमा मधेश दलसंग मिल्ने सैद्धान्तिक धरातल पनि थिएन भने मधेशी दलसंग मिल्ने हो भने उनीहरुको सामरिक र आर्थिक हैसियतले थरुहटको मुद्दालाई निस्तेज पार्ने सम्मको जोखिम पनि थियो ।

यस्तैमा एक दिन भारतबाट एक जना पत्रकार बनेर को हुन् भन्न सक्दिन तर उनी भारतिय रअ का ऐजेण्ट हुन् भन्ने सुनेको थिएँ । उनी नेपाल आएर थरुहटका शिर्ष नेताहरुलाई मधेश आन्दोलनसंग थरुहट आन्दोलनलाई मिसाउन छलफल गर्दै रहेछन् । तर शिर्ष नेताहरु उनलाई मिल्न सक्ने पनि भन्न नसक्ने र मिल्दैनौ पनि भन्न नसकेर रन्थनिएका थिए । यस्तैमा उनीसंग एकजना थरुहटका शिर्ष नेताले मलाई उनीसंग भेट गराउनु भयो । हामी जम्मा तीन जना बसेर छलफल गर्यौँ । उनले त्यही कुरा मधेश आन्दोलनसंग मिलेमा थरुहटको लागि राम्रो हुने भन्दै सम्झाउने प्रयास गर्दै थिए भने मैले मुलभूत रुपमा थरुहट र मधेश आन्दोलनको सैद्धान्तिक धरातल र उठान नै फरक भएको ले मिल्न नसक्ने जिकिर गर्दै रहे । त्यसमा पनि मधेश आन्दोलनका नेता उपेन्द्र यादव जी ले तीन भाषा निति (नेपाली, अंग्रेजी र हिन्दी) नेपालको राष्ट्रिय भाषा हुनुपर्छ भन्ने जिकिर लिँदै गर्दा थारु भाषालाई ओझेलमा पार्ने काम गर्नु भएकोले उनीसंग मिल्ने त कुनै आधार पनि थिएन ।

यिनै सबै तर्क दिएपछी उनी भारतिय पत्रकारले ठीकै छ भनेर छलफललाई टुङ्गो लागाईएको थियो । पछी के के भयो थरुहटका शिर्ष नेताहरु र उनी बिच त्यो कुरा म सम्म पुग्न सकेन, तर मधेश र थरुहट आन्दोलनको एकता भने हुन सकेन । एउटा कुरा के भने नेपालका अधिंकास थारु नेताहरु धक फुकायर मुलधारका नेता प्रशासकहरुसंग आफ्नो कुरा राख्न धक मान्दछन् र कहिं कतै ब्यक्तिगत रुपमा राजनितीक उचाई प्राप्त गर्नमा बाधा पार्नेहुन् कि भन्ने डर उनीहरुमा भएको मैले महसुस गरेको छु । जे होस यो सबै जातजातीमा हुन्छ तर थारुहरुमा अझै पनि (हिनता बोध) ईन्फेरियोरिटी कम्पलेक्स छ जस्तो लाग्छ ।

यता म थरुहट आन्दोलन कै कारणले अमेरिकी सहयोग नियोगको सहयोगमा आईसीपीडी र करुना सेन्टर फर पिसबिल्डिङ्गले अमेरिकाको बोस्टनमा आयोजना गरेको १० दिने स्टेट बिल्डिङ्ग तालिममा सहभागी भएर आएँ । त्यहाँ निगोसिएसन र शान्ति स्थापना गर्ने बिभिन्न तौर तरिकाहरुको बारेमा सिक्ने मौका पाएँ । त्यो तालिमबाट फर्किएर नेपाल आएपछी संबिधान निर्माणमा नमिलेको बिषय मिलाउन भन्दै तत्कालिन माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) जी को नेतृत्वमा एक उच्च स्तरिय राजनितिक संयन्त्र निर्माण भई छलफलमा जुटी सकेको थियो । यसमा पनि मलाई तत्कालिन संबिधान सभाका सदस्य माननिय रुक्मिणी चौधरीको सहयोगी सदस्यको रुपमा उक्त संयन्त्रको सहयोगी हुने मौका मिलेको थियो । झण्डै एक महिना सम्म आफ्नो घरको मानो खायर काठमाण्डौ मै बसेर उक्त संयन्त्रको सबै बैठकहरुमा सहभागी भएँ । यसमा पहिलो पटक मैले प्रचण्डलाई प्रत्यक्ष देख्ने र कुरा गर्ने अवसर पाएको थिएँ ।

साधारण चिनजान गर्नु भयो प्रचण्डले । प्रसंगवस ठट्यौलो कुरा उठ्यो कुकर बम पड्केको । वहाँलाई मैले कुकर बम पड्केर मेरा घर पनि चर्किको छ भने (द्वन्द्धकालमा मेरो घर नजिकै रहेको जिल्ला भुमिसुधार कार्यालय, गुलरियामा कुकर बम पड्काएका थिए) । वहाँले कसले पड्काएको हो भनेर सोध्नु भयो, म अलिक हच्किएँ, के भन्ने के नभन्ने, तपाईँहरुले त हो भन्ने हो भने रिसाउलान भन्ने डर लाग्यो र अकमकिदैँ थिएँ । यतिकैमा नेकाँका शिर्षनेता रामचन्द्र पौडेलले भनिहाल्नु भयो, द्वन्द्धको समयमा कसले पड्काउँथ्यो , उसैले त होला । त्यहाँ उपस्थित सबै हाँस्नु भयो र प्रचण्ड जी पनि अकमकिदै मुस्कुराउनु भयो । यस पछी निकै दिन सम्म कुनै नमिलेको बिषयमा छलफल हुँदा प्रचण्डले मेरो बिचार पनि भन्न लाउनु हुन्थ्यो । यो कुरा अर्को एपीसोडमा राख्ने छु । क्रमशः