ब्रोडब्यान्ड इन्टरनेटसम्बन्धी सम्झाैता गर्न छुटेका स्थानीय तहलाई सम्झाैताको माैका दिँदै प्राधिकरण

ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरेर देशैभरका स्थानीय तहमा इन्टरनेट पुर्याउने योजनामा छुटेका स्थानीय तहलाई सम्झाैताका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

सरकारले देशभरका सबै स्थानीय तहका विद्यालय तथा स्वास्थ्यचाैकी लगायतमा इन्टरनेट सेवाको पहुँच, स्तरोन्नति तथा विस्तारको काम गरिरहेको र उक्त परियोजनामा समझदारी हुन बाँकी रहेका वा छुटेका स्थानीय निकाय भए समझदारी पत्रमा हस्ताक्षर गर्न आउन प्राधिकरणले बिहीबार सूचना जारी गरेको हो।

भूकम्पबाट अति प्रभावित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा लागयतका ८ जिल्लाका सबै स्थानीय तहका वडा कार्यालय सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा स्तरोन्नति गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको छ।

यसबाहेक ती जिल्लाका सामुदायिक आधारभूत विद्यालयहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको पनि योजना अगाडि बढिरहेको छ।

यस्तै काठमाडाैं उपत्यका तथा भूकम्पबाट अति प्रभावित ८ जिल्लाबाहेकका ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयहरुमा पनि ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने काम भइरहेको र हालसम्म अति प्रभावित जिल्लाका ७६ मध्ये ७१ तथा ६६ जिल्लाका ६५६ मध्ये २६७ स्थानीय तहहरुसँग समझदारी भइसकेको छ।

यस्तै समझदारी पत्रमा हस्ताक्षर गर्न छुटेका सबै स्थानीय तहलाई १ महिनाको समयसीमा छुट्याएर प्राधिकरणले हस्ताक्षर गर्न आउनका लागि आह्वान गरेको हो।

प्राधिकरणले यो सूचना प्रकाशित भएको १ महिनाभित्र सम्पर्कमा आउने स्थानीय तहहरुलाई नै अन्तिम मानेर आवश्यक प्रक्रिया अघि बढाउने पनि प्रस्ट पारेको छ।