आज १०९ औँ विपी जन्मजयन्ती, विपीको शालिकमा माल्यार्पन

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार बाँके लगायत देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको वि.सं. १९७१ भदौं २४ गतेका दिन जन्म भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले शुक्रबार बिहान नेपालगन्जस्थित विपी चोकमा रहेको स्वर्गिय विपी कोइरालाको शालिकमा माल्यार्पन गरेको छ ।

सो क्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, नेता माधवराम खत्री, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य परमेश्वरी पाठक, जिल्ला सचिव सुधान्सु कोइराला, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय रहेका थिए ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रुपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा-कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने ।

विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्व कालमा उनले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्के । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।